Banner news

देश बनाउन अब हतियारको बदला, औजार बोकौं : हर्क साम्पाङ

देश बनाउन अब हतियारको बदला, औजार बोकौं : हर्क साम्पाङ


बिर्तामोड । झापाको बिर्तामोडमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश बनाउन हतियारको बदला, औजार बोक्नुपर्ने बताएका छन् । उनले बुधबार झापा जिल्ला समिति घोषणा तथा जिल्ला सभा कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

देशमा रगत बगाउन छोडेर पसिना बगाउनका लागि तयार बन्न आग्रह गर्दै उनले अब उत्पादनमा जोड दिनुपर्ने बताए । बिर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले खुट्टा तान्नेहरुलाई नेता बनाउन नहुने धारणा व्यक्त गरे । नेताले ज्याकेट बनाउन सिकाउछ, उनले भने – भ्रष्टाचार गरेको पैसाले जाडोमा ज्याकेट बाँढ्नेहरु नेता बन्न सक्दैनन् । त्यसैले सबैले उत्पादनमा जोड दिऔं ।

तपाईहरुलाई भोक लाग्दा खाना ल्याएर दिने मान्छे नेता नहुने भन्दै उनले भने, नेता त्यो हो जसले अन्न उत्पादन गरेर आफै खान सिकाउछ । आफै उत्पादन गर्ने र उत्पादन गर्न सिकाउनेहरु मात्रै नेता हुन सक्ने साम्पाङको धारणा थियो ।
जनतालाई श्रममा जोड्ने अभियान नै श्रम संस्कृतिको अभियान रहेको भन्दै उनले भ्रष्टाचार नगर्ने, ठगी नगर्ने प्रतिवद्धा व्यक्त गराएका छन् । बेलाबेला गीत सुनाउदै सम्बोधन गरेका अध्यक्ष साम्पाङले जनताको शक्तिलाई कजोर नठान्न आग्रह गरेका छन् । विदेशी दूतावास धाउनेहरुसँग कुनै पनि भिजन नभएको उनको दावी छ ।

हर्क साम्पाङले देश बनाउछ भनेर आशा गर्न छोडिदिनु भन्दै उनले सबैले आआफु देश बचाउन र बनाउन लाग्नुपर्ने धारणा राखेका थिए । देश बचाउन र बनाउन कसैको आशा नगर्नु, हामी आ–आफ्नो ठाउँबाट लागौं, उनले थपे ।
जेनजीहरु देशको भविष्य रहेको बताउँदै साम्पाङले उनीहरुलाई दुरुपयोग नहुन आग्रह गरेका छन् । जेनजी विरुद्ध मिडिया ट्रायल गरेर विभाजन गरिरहेको उनको आरोप छ । जेनजीलाई उनले भने – सुन र पित्तल छुट्टाउनुहोस् । जेनजीहरुमा क–कसले किन लगानी गरिहरेका छन् भन्नेबारे बुझेर अघि बढ्न सुझाव दिए ।
उनले सबै पुस्तालाई आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । वर्तमानभन्दा भविष्यको चिन्ता धेरै गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

श्रम संस्कृति पार्टी झापा जिल्लाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो । पार्टीका झापा जिल्ला अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव रबिन शेर्मा, कोषाध्यक्ष समिता राई, उपाध्यक्ष एनएस फागो, सदस्य हिमालप्रकाश कन्दङ्वा, पार्टीका झापा जिल्ला उपाध्यक्ष सुमनकुमार पोखरेललगायत सहभागी थिए ।

शेयर गर्नुहोस :

81
Shares