बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा बिहीबार औपचारिक रूपमा सम्पन्न भएको छ ।
गत मङ्सिर २९ देखि पुस ७ गतेसम्म सञ्चालित सातवटा एकाइगत सभाबाट छनोट भएका २१ जना प्रतिनिधि शेयर सदस्य, विभिन्न उपसमिति, लेखा समिति, सञ्चालक समिति र कर्मचारीहरूको उपस्थितिमा बिर्तामोडस्थित आदर्श ब्याङ्केटमा संस्थाको १३ औँ वार्षिक साधारणसभा तथा माइन्युट प्रमाणीकरण सभा सम्पन्न भएको हो ।

संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सभाले सहकारी ऐन, नियमावली तथा नियमनकारी निकायका निर्देशनहरूलाई पालना गर्दै चालू आर्थिक वर्षका लागि संस्थाको वार्षिक कार्ययोजना र बजेट पारित गरेको छ । सभामा एकाइगत सभाहरूबाट चुनिएका प्रतिनिधिहरूले सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदनलाई अनुमोदन गरेका थिए ।
सभामा सञ्चालक समिति सदस्य कृष्ण प्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का सदस्य भगीरथ आले लगायत विभिन्न सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजकहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वर प्रसाद लामिछानेले गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष गौतमले एकाइगत सभाका क्रममा शेयर सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावहरू नै संस्थाको मार्गदर्शन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नियमनकारी निकायको अनुगमन र निर्देशनलाई संस्थागत सुधारको अवसरका रूपमा लिएका छौँ । सदस्यको बचत सुरक्षा र पारदर्शिता हाम्रो पहिलो प्राथमिकता हो । सञ्चालक समितिमा बसेर सदस्यको मिहिनेत र पसिनाले आर्जित बचत रकमलाई रजाइँ गर्न राज्यको कुनै पनि कानुनले छुट दिएको छैन ।’
संस्थाको १३ औँ वार्षिक साधारणसभाको प्रतिवेदनमा प्रस्तुत वित्तीय तथ्याङ्कअनुसार ३९ हजार १०५ सदस्य आबद्ध संस्थाको कुल कारोबार २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रुपैयाँ पुगेको छ । संस्थाले समीक्षा अवधिमा १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९५ करोड १२ लाख २३ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, संस्थाले सदस्यहरूको राहत र सुविधाका लागि एक करोड १० लाख रुपैयाँभन्दा बढी प्रदान गरेको विवरण प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका व्यवस्थापक सरोज दाहालले सातवटै एकाइगत सभाको समापनपछि आयोजना गरिएको प्रमाणीकरण सभासँगै संस्थाको १३ औँ वार्षिक साधारणसभाका सबै कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । संस्थाका ३१ वटा सेवाकेन्द्रलाई ७ एकाइमा विभाजित गरी सञ्चालन गरिएको साधारणसभामा सदस्यहरूको कुल उपस्थिति ५८.५२ प्रतिशत रहेको संस्थाले जनाएको छ ।
झापा, मोरङ र इलामका ३१ वटा सेवाकेन्द्रमार्फत सेवा दिइरहेको हाम्रो नेपाल साकोसले वर्तमान आर्थिक चुनौतीका बीच पनि सुशासन र पारदर्शिताका कारण सदस्यहरूको उच्च विश्वास आर्जन गर्न सफल भएको दाबी गरेको छ ।







प्रतिक्रिया