बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यो सरकार विदेशीहरुले बनाएको आरोप लगाएका छन् । उनले मन्त्रीहरु समेत विदेशीकै सिफारिसमा नियुक्त गरिएको उनको आरोप छ ।
झापाको बिर्तामोडमा शनिवार आयोजित जिल्लास्तरीय सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अब आउने निर्वाचनमा कसले जित्नुपर्छ, कसले हार्नुपर्छसम्मको योजना विदेशीहरुले बनाएको बताए । विदेशीहरुको योजना जनतालाई थाहा भइसकेको लिङदेनको भनाई छ ।

उनले विदेशीले पार्टी समेत बनाउन सहयोग गरेको गम्भीर आरोप लगाए । उनी भन्छन्, देश गम्भीर संकट तर्फ फस्न लागेको छ । ति सबै संकटबाट बचाउने अन्तिम विकल्प नै राप्रपा हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जित्नैपर्छ भनेर आएका छैनौं, उनले सभालाई सम्बोधन गर्दै भने – देशलाई जिताउन आएका छौं, देशले जित्नुपर्छ ।
उनले यहि संघीयता, संवैधानिक व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षताबाट देशलाई दुर्घटनाबाट जाउन नसकिने उद्घोष गरे । यसै संविधानबाट हुने निर्वाचनले भविष्यमा भदौं २३, २४ भन्दा अर्को ठुलो दुर्घटना हुन सक्ने संभावनालाई रोक्न सकिन्छ ? भन्ने प्रश्न गरेका छन् । भ्रष्ट व्यवस्थाबाट मुलुक अघि बढ्न नसक्ने उनको दावी थियो ।
देश बचाउन र देश बनाउन निर्वाचनभन्दा अघि राजा, राजनीतिक दल र नयाँ पुस्ताबीच नयाँ समझदारी कायम गर्नुपर्ने उनको भनाई छ ।
रवि लामिछाने र बालेन शाहतर्फ सङ्केत गर्दै उनले चुनावको टुंगो नलाग्दै प्रधानमन्त्रीको पद बाँडफाँड गरेको भन्दै व्यंग्य गरेका छन् । अध्यक्ष लिङ्देनले भने, ‘अहिले नयाँ भन्ने साथीहरू, चुनाव हुनु कहाँ छ कहाँ छ, जित्नु कहाँ छ कहाँ छ, प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गर्दै गरेका छन् ।’ उनले यस्तो योजना पनि विदेशीहरूकै डिजाइनमा भइरहेको दाबी गरे ।
लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सृजना भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष लिङ्देनले ऊर्जा, कृषि र पर्यटन क्षेत्रको विकासबाट देशको विकास गर्न सकिने बताउँदै हरेक नागरिक इमानदारीपूर्वक राष्ट्रका निम्ति लागिपरेमा पाँच वर्षमा मुलुक विकासको बाटोमा अग्रसर हुने धारणा राखेका थिए ।
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले देशमा ठूला भ्रष्टाचार काण्डहरूलाई ढाकछोप गर्न ठूला राजनीतिक दलहरूले संवैधानिक निकायहरूलाई भर्तीकेन्द्र बनाएको आरोप लगाए ।
शाहीले सानातिना कसुरमा सर्वसाधारण र तल्लो तहका कर्मचारी कारबाहीको भागीदार हुने तर अर्बौं भ्रष्टाचार गर्नेहरू खुलामञ्चमा हिँडिरहेको भन्दै आक्रोश पोखे ।
शाहीले भने, ‘यहाँ ५ सय रुपैयाँ घुस खाने ट्राफिक पुलिस र ५ हजार उठाउने सुब्बालाई कारबाही हुन्छ, तर ५ अर्बको भ्रष्टाचार गर्नेलाई कारबाही हुँदैन ।’ उनले ५ अर्बको भ्रष्टाचार गर्ने कर्मचारी, व्यापारी वा नेता जो भए पनि उनीहरू कानुनभन्दा माथि भएको जस्तो व्यवहार देखाइएको टिप्पणी गरे ।
नेता शाहीले नेपालको संविधानमै गम्भीर त्रुटि रहेको दाबी गरे । संविधानको धारा २८४ र १५३ को व्यवस्थातर्फ इङ्गित गर्दै उनले भने, ‘अदालतका न्यायाधीशदेखि अख्तियारका आयुक्तसम्म, निर्वाचन आयोगदेखि महालेखा परीक्षकसम्म पार्टीका कार्यकर्ता भर्ती गर्ने व्यवस्था संविधानले नै गरेको छ ।’
उनले सत्तामा जुन दल पुग्छ, उसले आफ्ना मान्छे संवैधानिक निकायमा नियुक्ति गर्ने र तिनै मान्छेले नेताहरूको भ्रष्टाचारको फाइल दबाउने गरेको जिकिर गरे । ‘भोलि नयाँ मान्छे सत्तामा आए पनि आफ्नै मान्छे नियुक्ति गर्छन्, अनि सुशासन कसरी हुन्छ ?’ उनले प्रश्न गरे ।
शाहीले देशलाई सही बाटोमा डो¥याउन संविधान संशोधन वा पुनर्लेखन अपरिहार्य रहेको बताएका छन् । सभामा विभिन्न व्यक्तिहरु राप्रपा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष लिङदेनले स्वागत गरेका हुन् ।







प्रतिक्रिया