मुख्य समाचार

मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए

मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए


मेचीनगर । मेचीनगर नगरपालिकामा साउन यता पाँच महिनामा ४६ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् ।
मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सो कुरा जानकारी गराएको हो ।

२०८२ साउनदेखि मंसिर महिना सम्ममा ४६ जना नयाँ क्षयरोगका विरामी पत्ता लागेको छ । २०८१-८२ सालमा २१० विरामी पत्ता लागेको थियो । त्यसमध्ये ९४ प्रतिशत निको भए भने छ प्रतिशत अर्थात ६ जना क्षयरोगसँगै अन्य घातक रोग लागेका विरामीहरुको मृत्यु भएको शाखाले बताएको छ ।

शाखाकी प्रमुख सविता सापकोटाले क्यान्सर लगायतका अन्य घातक रोगहरु समेत भएका मृत्यु भएका ६ जनामा वडा नम्बर ८ का १ जना, १५ का २ जना, ११ का १ जना र १२ नम्बर वडाका २ जना रहेको जानकारी दिइन् । समीक्षा गोष्ठीमा जोखिमयुक्त क्षेत्र, त्यसको खोजी कार्य र अति विपन्न विरामी लगायतलाई पोसिलो खानेकुरा तिरणलाई निरन्तरता दिने छलफल भएको थियो ।

सापकोटाका अनुसार क्षयरोग रोगका प्रत्येक विरामीलाई वर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ ।

अघिल्लो वर्ष २२१ जना क्षयरोगका विरामीलाई पोसिलो खानेकुराको प्याकेज वितरण गरेको थियो । लगत संकलन गरिएका क्षयरोग रोगका विरामीलाई निगरानीमा राखेर उपचारमा फलोअप गरिरहेको पनि उनको भनाई छ । यसैगरी २०८०-०८१ मा २०५ जना र २०७९-०८० मा २०० जना क्षयरोगका विरामी भेटिएका थिए ।

एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा सो कुरा पत्ता लागेको हो । हाल मेचीनगर–२, ४, ७, १०, १२ र १५ नम्बर वडामा छाति एक्सरे परीक्षण भएको थियो ।

गत बैशाखमा मेचीनगरमा पहिलो पटक क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्नु पर्नेछ’, सापकोटाले भनिन् – ‘४ वर्ष भइसक्यो । अब एक वर्षभित्र अभियान सफल बनाउने गरी काममा लागेका छौँ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न समीक्षा गोष्ठीमा नगरका क्षयरोगका फोकल पर्सन र इन्चार्जहरूको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण स्वास्थ्य शाखा प्रमुख सापकोटाले गरेकी थिइन् ।

शेयर गर्नुहोस :

189
Shares