बिर्तामोड

वार्षिकोत्सवमा मोहनमाया विद्या पदक प्रदान

वार्षिकोत्सवमा मोहनमाया विद्या पदक प्रदान


बिर्तामोड । मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडको ५८ औँ वार्षिकोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा छात्रवृत्ति वितरण गर्दै सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले विद्यालयको ऐतिहासिक पृष्ठभूमि र पछिल्लो एक वर्षभित्रका गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले मोहनमाया माध्यमिक विद्यालय कोशी प्रदेशमै २ हजारभन्दा बढी विद्यार्थी संख्या, उत्कृष्ट नतिजा र व्यवस्थापकीय क्षमताका आधारमा अग्रणी विद्यालय भएको बताए ।

वार्षिकोत्सवका अवसरमा विभिन्न नेपाली सांस्कृतिक तथा आधुनिक नृत्य, फेसन शो र अभिनय प्रस्तुत गरिएको थियो । साथै उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षा ८ मा ४ जिपिए ल्याउने ६ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

त्यसैगरी मोहनमाया विद्या पदकबाट कक्षा १० का ५७ जना र कक्षा १२ का ३८ जना विद्यार्थी सम्मानित भएका छन् । डीसीई छैटौँसम्म उत्कृष्ट नतिजा ल्याउने अविनय खतिवडा, सुशाना कोइराला, सन्दिप बराल, प्रजन बराल र विजु भुजेललाई पनि मोहनमाया विद्या पदक प्रदान गरिएको छ ।

सुश्री सावित्री बस्नेत अक्षयकोष, गंगादेवी–रंगलाल चिमरिया स्मृति अक्षयकोष, नैनानन्द–विष्णुमाया संग्रौला स्मृति कोष, श्यामलाल (गंगाराम)–रणमाया खनाल स्मृति अक्षयकोष, चन्द्र–विष्णु राउत स्मृति प्रतिष्ठान, गोपालकुमार–रमा बस्नेत अक्षयकोष, स्व. सुजता रिमाल स्मृति कोष तथा रुपनारायण–पवित्रा तिवारी स्मृति कोषबाट विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू पुरस्कृत भएका छन् ।

सो अवसरमा पूर्व शिक्षक राजेन्द्र प्रसाद संग्रौलाले कक्षा ५ का उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे । कार्यक्रमकै बीचमा शिक्षक वेदमाया खनाल र आया अम्बिका देवी दाहाललाई विदाइ गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रम विघटित प्रतिनिधिसभाको सदस्य हर्कमाया विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

189
Shares