Banner news

झापामा कुखुरापालक किसानको संख्या ६८ प्रतिशतले घट्यो

झापामा कुखुरापालक किसानको संख्या ६८ प्रतिशतले घट्यो


झापा । १३ औँ राष्ट्रिय पोल्ट्री दिवस बिहीबार झापामा पोषण प्रवद्र्धन, जनचेतना र किसान–विद्यालय सहकार्यका कार्यक्रमसहित धुमधामका साथ मनाइएको छ ।

दिवसको अवसरमा जिल्लाका कुखुरा पालक किसानहरूले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी र अस्पतालका बिरामीलाई प्रोटिनयुक्त अण्डाको खाजा खुवाउँदै अण्डाको महत्वबारे सन्देश प्रवाह गरे ।
जिल्लाको शिवसताक्षी नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा किसान स्वयं पुगेर विद्यार्थीलाई अण्डाको खाजा खुवाएका हुन् । यसैगरी, भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई पनि उसिनेको अण्डा वितरण गरिएको छ ।

नेपाल लेयर्स कुखुरा पालक संघ जिल्ला शाखा झापाका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा कुखुराजन्य वस्तुको कारोबार गर्ने किसानहरू विद्यालय–विद्यालयमा पुगेर खाजा खुवाउने कार्यक्रममा सहभागी भएका थिए ।
शिवसताक्षीस्थित भगवती माध्यमिक विद्यालय, चेतना माध्यमिक विद्यालय र हाम्रो मन्टेस्वरीका करिब दुई हजार बालबालिकालाई किसानहरूले अण्डाको खाजा खुवाएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय उपसचिव विवेक निरौलाले अण्डा सस्तो, सुलभ र उच्च गुणस्तरको प्रोटिन स्रोत भएकाले यसको नियमित सेवन मानवको मानसिक तथा शारीरिक विकासका लागि अपरिहार्य भएको बताए ।

उनले विकसित मुलुक र नेपालजस्ता विकासोन्मुख देशबीच शारीरिक विकास र पोषणस्तरमा देखिने भिन्नताको एउटा प्रमुख कारण आहारमा कुखुराको मासु र अण्डाको प्रयोग रहेको दाबी गरे । ‘घर, विद्यालय, होटल—हरेक भान्सा कोठामा अण्डा अनिवार्य हुनुपर्छ,’ उनले भने, ‘राज्यले पनि प्रोटिनयुक्त खाद्यवस्तुमा अण्डालाई प्राथमिकतामा राख्नुपर्छ ।’

निरौलाले नेपाली किसानलाई अण्डा उत्पादनमा हौसला प्रदान गर्न बैंकिङ कारोबारमा सहुलियत दरको ब्याज, कर्जामा पहुँच र बजार सुनिश्चितता आवश्यक रहेको बताए । कुखुरा तथा कुखुराजन्य वस्तुको कारोबारलाई दिगो रूपमा अघि बढाउन सके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य सुबोध निरौला, नेपाल लेयर्स कुखुरा पालक सघ झापाका उपाध्यक्ष पवन कटवाल, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश कुमार दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रहाङ लिङ्देन तथा चेतना माध्यमिक विद्यालय सञ्चालन समितिका अध्यक्ष गोविन्द बहादुर बस्नेतले अण्डाको पोषणीय महत्वबारे धारणा राखेका थिए ।

चेतना माविका अध्यक्ष बस्नेतले विद्यालयभित्र जंक फुड निषेध गरिएको र अबदेखि हप्तामा कम्तीमा दुई पटक अण्डाको खाजा खुवाइने प्रतिबद्धता जनाए ।

तर, राष्ट्रिय पोल्ट्री दिवसको उत्साहपूर्ण वातावरणसँगै झापामा कुखुरा जन्य वस्तुको कारोबार गर्ने किसानको वास्तविक अवस्था भने चिन्ताजनक देखिएको छ । किसानहरूका अनुसार राज्यको उदासीनता, उत्पादन लागत वृद्धि र नीतिगत असहयोगका कारण यो व्यवसायबाट किसान पलायन हुन थालेका छन् ।

चार वर्षअघि मात्र झापामा १३५ जना कुखुरा पालक किसान सक्रिय थिए । हाल यो संख्या घटेर ४२ मा सीमित भएको छ । यसले किसानले राज्यबाट अपेक्षित सहुलियत, संरक्षण र प्रोत्साहन नपाएकै कारण व्यवसाय छोड्न बाध्य भएको संकेत गर्छ । त्यस्तै, झापामा दैनिक करिब २५ सय कार्टुन अण्डा उत्पादन हुने गथ्र्यो भने हाल उत्पादन घटेर बढीमा ७ सय कार्टुनमा झरेको छ ।

किसानहरूका अनुसार बाहिरबाट आउने कच्चा पदार्थमा लाग्ने भन्सार, उत्पादन लागत र बजार व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । कृषिजन्य वस्तुमा सरकारले दिने सहुलियतलाई अझ फराकिलो बनाइनुपर्ने उनीहरूको माग छ ।
पोषणका दृष्टिले हेर्दा, विश्व स्वास्थ्य संगठन र विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले कुखुराको मासु र अण्डालाई ‘सुपर फुड’ का रूपमा व्याख्या गरेका छन् । एक वटा अण्डामा उच्च गुणस्तरको प्रोटिन, भिटामिन ए, डी, बी–१२, फोलिक एसिड, आइरन र जिंक पाइन्छ । स्वस्थ्य शरिरको लागि ‘सस्तोमा सस्तो, स्वास्थ्यलाई राम्रो’ बनाउने मुख्य खुराक नै कुखुराको मासु र अन्डा रहेको विज्ञले बताएका छन् ।

विकसित देशहरूमा प्रतिव्यक्ति वार्षिक अण्डा उपभोग २५० देखि ३०० वटासम्म पुगेको छ भने नेपालीले वार्षिक ६१ वटा सम्म मात्र उपभोग गरेको तथ्याँङक छ । पोल्ट्री विशेसज्ञ डा दिनेश गौतमका अनुसार बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाका लागि अण्डा अत्यन्त लाभदायक खाद्यवस्तु हो ।

एउटा अन्डामा ६ ग्राम प्रोटिन् हुन्छ भने १ किलो ग्राम कुखुराको मासुमा २५ देखि ३० ग्राम सम्म प्रोटिन, भिटामिन ए, डी, बी–१२, फोलिक एसिड, आइरन र जिंक पाईने डा गौतमले जानकारी दिए ।

राष्ट्रिय पोल्ट्री दिवस केवल उत्सवमा सीमित नराखी किसानको संरक्षण, उत्पादन वृद्धि र आम नागरिकको पोषणस्तर सुधारतर्फ केन्द्रित हुनुपर्ने भ्याली एग्रो फिड प्रालि संचालक घनश्याम निरौलाले बताए । उनले भने,‘अण्डाको खाजा खुवाउँदै मनाइएको दिवसले पोषण सन्देश त दिएको छ, तर किसानको भविष्य सुरक्षित गर्न राज्यको ठोस नीति र व्यवहारिक सहयोग अपरिहार्य देखिएको छ ।’

शेयर गर्नुहोस :

162
Shares