Banner news

झापा इनर्जी दुई वर्षमै १६ करोड ऋण तिर्न सफल, लगानीकर्ता सन्तुष्ट

झापा इनर्जी दुई वर्षमै १६ करोड ऋण तिर्न सफल, लगानीकर्ता सन्तुष्ट


बिर्तामोड । सौर्य उर्जा विक्रीको दुई वर्षमा झापा इनर्जीले १६ करोड ऋण तिरेको छ । माछापुच्छ्रे र हिमालयन बैंकबाट करिव ६० करोड ऋण र सर्वसाधारणको लगानीबाट झापा इनर्जी सुरु गरिएको थियो । सौर्य उर्जा उत्पादन गरिरहेको झापा इनर्जीले दुई वर्षमै उत्साहजनक आम्दानी गरेको जनाएको छ ।

झापा इनर्जीले आज बिर्तामोडमा सातौं वार्षिक साधारणसभा गर्दै उर्जा उत्पादनमा लगानीकर्तालाई सन्तोषजनक परिणाम दिइरहेको जनाएको छ । वार्षिक साधारणसभाबाट विभिन्न प्रस्तावहरु पारित गरिएको छ ।

उर्जा मार्फत राष्ट्रको आर्थिक समृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको झापा इनर्जीको गएको बिहीवार प्रति कित्ता १३ सय २० रुपैयाँ मुल्य पुगेको थियो ।

२०७५ साल असोज १६ गते स्थापना भएको इनर्जी लिमिटेड शिवसताक्षी–४ स्थित बुलुचोकमा १० मेघा वाट क्षमताको परियोजना सञ्चालन गरिरहेको छ । ०७८ मंसीर १२ गते झापा इनर्जी र नेपाल बिद्युत प्राधिकरणबिच विद्युत खरिद बिक्री गर्ने सम्झौता भएको थियो ।

झापा इनर्जीले शिवसताक्षी–४ मा १० बिघा १७ कठ्ठा १८.५ धुर जग्गा र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इन्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिगा ११ कठ्ठा १३ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरेर आयोजना निर्माण कार्य शुरु गरेको थियो ।

२०८० माघ १० गतेदेखि नेपाल विद्युत प्राधिकरणलाई उत्पादित विद्युत बिक्री गर्दै आइरहेको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइन मार्फत दमक बितरण केन्द्र अन्तरगतको बुलुचोक शव स्टेशनमा जडान गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

आयोजनाले आर्थिक बर्ष ०८१÷०८२ मा १ करोड २४ लाख ८५ हजार ६० युनिट बिद्युत नेपाल प्राधिकरणलाई बिक्री गरी ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ बराबरको आम्दानी गरेको छ । त्यसैगरी २०८२ साउन १ गतेदेखि मंसीर मसान्तसम्ममा ६५ लाख २१ हजार २६० युनिक विद्युत उत्पादन गरी ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष एलपी साँवाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । झापा इनर्जीले पहिलो पटक ९ लाख ५० हजार ४७५ कित्ता आइपिओ निष्काशन समेत गरिसकेको छ ।

जसमध्ये ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, विदेशमा भएकाका लागि ५७ हजार २९ कित्ता, ११ हजार ४०६ कित्ता कम्पनीका कर्मचारीलाई र बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणका लागि शेयर निष्कासन गरेको अध्यक्ष साँवाद्धार प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले शुभकामना मन्तव्य राख्दै जनताको जीवनस्तर उकास्न सौर्य उर्जा महत्वपूर्ण परियोजना भएको बताए । उनले सामाजिक एमव् राजनीतिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुले व्यवसाय गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । प्रमुख अतिथि दाहालले झापा इनर्जीको परियोजनाले राष्ट्रका लागि ठुलो योगदान गर्ने बताएका हुन् ।

झापा इनर्जीका अध्यक्ष लालप्रसाद साँवा लिम्बुको अध्यक्षतामा सम्पन्न साधारणसभामा सञ्चालक पवित्रा महतारा प्रसाई औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

शेयर गर्नुहोस :

189
Shares