Banner news

कनकाई पुलमा शंकास्पद वस्तुसँगै पर्चा फेला : राजसंस्थाको माग, निर्वाचनको विरोध

कनकाई पुलमा शंकास्पद वस्तुसँगै पर्चा फेला : राजसंस्थाको माग, निर्वाचनको विरोध


बिर्तामोड । आज विहान कनकाई पुलमा फेला परेको शंकास्पद वस्तु नजिकै सनातन सुरक्षा सेनाको पर्चा भेटिएको छ । सुरक्षा निकायले पर्चा सुरक्षित गरिसकेको जनाएको छ ।

सनातन सुरक्षा सेनाको नाममा जारी घोषणा पत्र लेखिएको पर्चामा नेपालमा राजा संस्था पुनः स्थापना र वैदिक सनातन हिन्दू राष्ट्र घोषणा नभएसम्म विरोध जनाइरहने उल्लेख छ । पर्चामा आगामी फागुन २१ गते हुने निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरिएको लेखिएको छ ।

धर्मनिरपेक्ष तथा गणतान्त्रिक व्यवस्था नेपालको इतिहास, सभ्यता, संस्कृति र वैदिक सनातन पहिचानविरुद्ध थोपारिएको व्यवस्था हो । जनताको आस्था, परम्परा र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गर्ने यस्ता संरचनालाई सनातन सुरक्षा सेना कुनै हालतमा स्वीकार गर्दैन, पर्चामा उल्लेख छ ।

सनातन सुरक्षा सेनाले फागुन २१ को निर्वाचनमा सहभागी हुने, उम्मेदवार बन्ने, मतदान गर्ने, निर्वाचन प्रक्रियालाई समर्थन गर्ने, सम्पूर्ण राजनीतिक दल, समूह र व्यक्तिको विरोध गर्ने जनाएको छ ।

उनीहरुले आन्दोलन सशस्त्र हुने र अबको विकल्प हतियार नै हो भन्ने उल्लेख गरेका छन् । राजा संस्था तुरुन्त पुनःस्थापना गरियोस्, नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गरियोस्, धर्मनिरपेक्षताको नाममा भएको सांस्कृतिक अतिक्रमण बन्द गरियोस्, राष्ट्रियता, सनातन धर्म र सभ्यताको रक्षा गरियोस् लगायतका मागहरु पर्चामा लेखिएको छ । पर्चामा अन्तिममा विशाल अक्शन इन्चार्ज लेखिएको छ ।

शेयर गर्नुहोस :

837
Shares