अर्जुनधारा । झापाको अर्जुनधारामा २८६२ औँ सोनाम ल्होसार पर्व भव्य रुपमा मनाइने भएको छ । पर्वको अवसरमा बृहत सांस्कृति कार्यक्रमसहित भेट्रान्स फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
आगामी माघ ५ गतेदेखि मञ्जुश्री पात्रो अनुसार सर्प वर्ष सकिएर घोडा वर्ष सुरु हुँदैछ । पर्व परिवर्तनको समयलाई बौद्धमार्गी तामाङहरुले नयाँ बर्षको रुपमा मनाउने गरेका छन् ।

आयोजक नेपाल तामाङ घेदुङ अर्जुनधारा नगरसमितिले मंगलवार पत्रकार सम्मेलन गर्दै माघ पहिलो साता विविध कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । घेदुङ अर्जुनधाराका अध्यक्ष बृखकुमार गोले तामाङका अनुसार अर्जुनधारा –३ स्थित कैदलेमा रहेको ड्रुक नर्बु छ्योर्लिङ गुम्बाको स्तरोन्नतिलाई समेत मुख्य लक्ष्य बनाएर ल्होसार पर्व मनाइने भएको छ ।
उनले माघ ९ गते विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार माघ १० गते विभिन्न व्यक्तित्वलाई सम्मानसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गायीका प्रिति आले र तामाङ सेलो गायक विशाल थिङले मुख्य प्रस्तुति दिने बताइएको छ ।
यसैगरी, ल्होसारकै अवसरमा माघ ३ गतेदेखि ५ गतेसम्म विभिन्न क्लबहरुबीच भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिँदैछ । भेट्रान फुटबलमा झापा र इलामका ८ टिमको सहभागिता रहने घेदुङका नगर सहसचिव धनबहादुर बल तमाङले जानकारी दिए । उनका अनुसार आयोजकसँगै धुलाबारी, बुट्टाबारी, सैनिक, बिर्तामोड, दूधे, खुदुनाबारी र इलामको बसन्त थाक्ले भेट्रान टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजारसहित आकर्षक ट्रफी पाउने छ । प्रतियोगिता सम्पन्न गर्न १ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । भेट्रान प्रतियोगिता भने अर्जुनधारा १ मदनपुरस्थित साँस्कृतिक खेल मैदानमा संचालन हुनेछ । भेट्रान फुटबलसँगै ल्होसार पर्व मनाउन र सांस्कृृतिक कार्यक्रम सम्पन्न गर्न ८ लाखभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ ।
घेदुङकी सचिव निरमाया वाइवा तामाङले संचालन गरेको पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिकाकी बोर्ड सदस्य चन्द्रा तामाङ, वडा सदस्य मदन लिमेल मगर, अग्रजहरु सलबहादुर गोले, सन्तबहादुर गोले, अर्जुनधारा नगर खेलकुद विकास समितिकी सदस्य निशा मोक्तानलगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया