बिर्तामोड । झापाको शनिश्चरे–खुदुनावारी सडक खण्डको विरिङ खोलामा पुल निर्माणका लागि ३५ करोड रुपैयाँ स्वीकृत भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालले उक्त बजेट स्वीकृत भएको जानकारी दिएको हो ।
पुल निर्माणका लागि पहल गरिरहेका सभामुख घिमिरेसहित अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङलगायतले बजेट स्वीकृति भएकाले लामो समयदेखिको प्रतिक्षा समाप्त भएको जनाएका छन् । वर्षौ पुरानो पुल विरिङ खोलामा आएको बाढीले प्रयोग गर्नै नमिल्ने गरी भाँचिएको थियो । पुल भाँचिएपछि प्रयोग नै गर्न छोडिएको छ । पुल निर्माण नहुँदा आवातजावतमै समस्या भइरहेको थियो ।

अर्जुनधारा वडा नं ७ लाई वडा नं ४ र १ सँग जोड्ने शनिश्चरे खुदुनावारी सडकको विरिङ खोलामा बजेट स्वीकृत भएसँगै पुल निर्माणको काम सुनिश्चित भएको जनाइएको छ । ठेक्का प्रकृया तत्काल अगाडि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
पुल निर्माणको काममा सुरूवात देखि नै अत्यन्तै गम्भीरताका साथ लागेको जनाउदै सभामुख देवराज घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् । पुल निर्माणको काममा बजेट व्यवस्थापनका लागि सक्रिय अर्जुनधाराका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङ, एमाले झापाका अध्यक्ष प्रेम गिरी, कोशी प्रदेशका नवनियुक्त खानेपानी उर्जा तथा सिंचाई मन्त्री चिन्तन पाठक, अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू तथा स्थानीय नागरिक बजेट स्वीकृतिसँगै खुशी व्यक्त गरेका छन् ।








प्रतिक्रिया