काठमाडौं । नेपाली कांग्रेसका बहुमत प्रदेश सभापति र जिल्ला सभापतिहरूले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न पार्टी केन्द्रलाई आग्रह गरेका छन् । शनिवार पाँच प्रदेश सभापति, दुई प्रदेश उपसभापति र ४७ जिल्ला सभापतिहरूले संयुक्त वक्तव्य निकाल्दै फागुन २१ को निर्वाचनमा लाग्नुपर्ने बेला पार्टी संकटमा फसेको भन्दै संवादबाट समाधान निकाल्न आग्रह गरेका छन् ।
वक्तव्यमा ‘गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसका महाधिवेशनको माग गरी हस्ताक्षर’ सङ्कलन गरेको स्वीकार गरिएको छ । तर त्यसरी हस्ताक्षर गर्नेहरू सबैले विशेष महाधिवेशन माग नगरेको दाबी गरिएको छ ।
‘केही महाधिवेशन प्रतिनिधिहरूले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा मात्र विशेष महाधिवेशनको माग गरेको, केही महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेको र केही महाधिवेशन प्रतिनिधिहरू तटस्थ रहेको अवस्था समेत विद्यमान छ,’ वक्तव्यमा भनिएको छ ।
१५ औँ महाधिवेशनको कार्य तालिका आइसकेको अवस्थामा नियमित अधिवेशनकै प्रक्रिया अगाडि बढेको अवगत गराउँदै विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको ठहर वक्तव्यमा गरिएको छ ।
‘विशेष महाधिवेशनको उपर्युक्त वातावरणसमेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवादमार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुनु आवश्यक छ,’ वक्तव्यमा भनिएको छ ।







प्रतिक्रिया