झापा । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।
झापाको बिर्तामोडस्थित सिटी प्यालेसमा महानायक राजेश हमालले साधारणसभा उद्घाटन गरे । कार्यक्रममा २७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक निष्कासन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कानुनी तथा प्रक्रियागत कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि विस्तृत छलफल गरी पारित गरिएको थियो । सभाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न दफाहरूमा आवश्यक संशोधन र परिमार्जन गर्ने प्रस्तावलाई समेत सर्वसम्मतिले अनुमोदन गरेको छ ।
वि.सं. २०७९ मा लगानीमूलक कम्पनीको रूपमा स्थापना भएको इष्टर्न साहाराले हाल १ अर्ब ५० करोड रुपैयाँ अधिकृत पुँजी र १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । विशेषगरी हरित लगानीलाई प्राथमिकता दिँदै आएको यस कम्पनीले जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र खनिज उत्खनन जस्ता बहुआयामिक क्षेत्रमा आफ्नो लगानी विस्तार गरिरहेको छ ।
सामाजिक र वित्तीय क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूद्वारा सञ्चालित यस संस्थाले छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गरी मुलुकको आर्थिक विकास र दिगो परियोजनाहरूमा योगदान पुरÞ्याउने लक्ष्य राखेको कम्पनीका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए । आईपीओ निष्कासन गर्ने निर्णयसँगै कम्पनी अब सर्वसाधारणको समेत स्वामित्व रहने गरी सार्वजनिक कम्पनीको रूपमा थप सुदृढ बनेको उनले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार, यो कम्पनीले हाइड्रो, सोलार, कृषि, सेवा, सुचना प्रविधि, पर्यटन र पूर्वाधार जस्ता भविष्य उन्मुख र उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ । यी क्षेत्रमा गरिएको लगानीले आर्थिक प्रतिफलसँगै रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र वातावरणीय सन्तुलनमा दीर्घकालीन योगदान गर्ने विश्वास लिएको उनको भनाइ छ ।
बिर्तामोडमा मुख्य कार्यालय र काठमाडौंको बानेश्वर हाइटमा सम्पर्क कार्यालय रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.८१ रुपैयाँ रहेको कम्पनीका निर्देशक कृष्ण रानाभाटले जानकारी दिए ।







प्रतिक्रिया