बिर्तामोड । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीलाई नियन्त्रणमा लिएपछि उनको रिहाईका लागि जिल्ला प्रशासन कार्यालय भद्रपुरमा दुई पक्षबीच वार्ता भइरहेको छ ।
राजवंशी समाज विकास समितिका प्रतिनिधि, प्रशासन, सुरक्षा निकायका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । बाहिर सयौं संख्यामा राजवंशी समुदायका अगुवाहरु भेला भई रिहाईका लागि माग समेत गरिरहेका छन् ।
राजवंशी समुदायका विभिन्न संघ संगठनहरुले रिहाईको माग गर्दै आज विज्ञप्ति जारी गरेका छन् । भक्का दिवसका दिन अमर्यादित अभिव्यक्ती दिएका अध्यक्ष राजवंशीलाई प्रहरीले आज राती नियन्त्रणमा लिएको थियो । राजवंशीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

पुस २९ गते डोमालाल राजवंशी रंगशालामा आयोजित भक्का दिवसमा दिएको अभिव्यक्तिकै कारण नियन्त्रणमा लिएको बुझिएको छ ।
‘प्रमुख जिल्ला अधिकारीलाई नैतिकता भए भोली नै जिल्ला छोडेर गईहाल, तिमिहरुको बाउबाजेले कमाएर दिएको होइन भक्का दिवस’ जस्ता अभिव्यक्ति दिएका थिए । उनले मञ्चबाटै भनेका थिए, ‘ ३ लाख रावजंशीहरुले भदौं २३ र २४ गते निम्त्याउनु नपरोस् ।’ कार्यक्रम रोक्न लिखित निर्देशन आएपछि अध्यक्ष रावजंशीले मञ्चबाटै आक्रोस व्यक्त गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय झापाले राजवंशी समाज विकास समितिभित्रको विवादका कारण कार्यक्रम रोक्न लिखित निर्देशन दिएको थियो । प्रशासनको निर्देशन विपरित भक्का दिवस आयोजना गर्दै झापाका प्रमुख जिल्ला अधिकारी लगायतलाई उनले मञ्चबाटै हप्कीदप्की समेत गरेका थिए ।
राजवंशी समुदायका विभिन्न संघ संगठनहरुले आज विज्ञप्ति जारी गर्दै रातको समयमा खाना खादै गरेको अवस्थामा बिना पक्राउ पूर्जी, अमानवीय एवं दुव्र्यवहार गर्दै नेपाल प्रहरीले झापाको विर्तामोडबाट गिरफ्तार गरेको भन्दै निन्दा प्रकट गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, कानुनको सामान्य प्रक्रिया समेत पूरा नगरी अपहरणशैलीमा गिरफ्तार गर्नु निन्दनीय मात्र छैन । नागरिकको जीवनयापन गर्न पाउने संविधानप्रदत्त अधिकार स्वयम् राज्यको निकायबाटै उल्लंघन भएको छ ।
राजवंशी समाज विकास समितिमा विगत चार वर्षदेखि विवाद रहेको उनीहरुले स्वीकार समेत गरेका छन् ।
भक्का दिवस आयोजना गर्न सबै किसिमको कानुनी प्रक्रिया पुर्याएको दावी गर्दै उनीहरुले जातीय सांस्कृतिक महत्वको पर्वलाई नै प्रभाव पार्ने गरी लिखित निर्देशन दिनु उचित नभएको जनाएका छन् ।
आदिवासी भूमिपुत्र राजवंशीलाई हाम्रो आफ्नै थातथलोमा हतोत्साहित र त्रसित बनाउने प्रशासनको यस्ता गैरकानूनी गतिविधिप्रति कडा आपत्ति प्रकट गर्दछौं, विज्ञप्तिमा भनिएको छ, अभय राजवंशीलाई बिना कुनै सर्त तत्काल रिहा गर्नुपर्छ ।







प्रतिक्रिया