शनिश्चरे । अर्जुनधारा जलेश्वरधाम समितिको विशेष साधारणसभा आइतबार सम्पन्न भएको छ । धामद्वारा आयोजित विशेष साधारणसभाले अध्यक्षको प्रतिवेदनमाथि छलफल तथा पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका आजीवन सदस्य खगेन्द्र प्रसाद ढकालले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । साधारणसभामा धाम समितिका महासचिव शिवलाल खतिवडाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार यस धामले झापा अर्जुनधारा – ७ निवासी गंगामाया गिरीका नाममा रहेको सोही वडाको कि .नं.३२४१ को ज.वि. ०–०–१२ को ज.वि.०–९–८ गरी जम्मा ज.वि. ०–१०–० (दश कठ्ठा) जग्गा खरिद गरेको र सो जग्गा पास गर्नका लागि कर छुट प्रक्रिया कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरमा अगाडि बढाइएको उक्त प्रक्रिया कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय भद्रपुर झापाको सिफारिस आवश्यक परेको हुँदा सो सिफारिस लिनका लागि आर्थिक वर्ष ०८१-०८२ को संस्था नवीकरण अनिवार्य गरिएकोले उक्त प्रयोजनका लागि विशेष साधारणसभा आव्हान गरिएको उल्लेख छ ।
त्यस्तै कोषाध्यक्ष मनोज जोशीले आर्थिक वर्ष ०८१-०८२ असार मसान्तसम्मको आम्दानी २ करोड १४ लाख ३८ हजार ७ सय ४९ रुपैयाँ ९९ पैसा रहेको छ भने खर्चतर्फ १ करोड ७५ लाख ५४ हजार ४ सय ४ रुपैयाँ र बचत ३८ लाख ८४ हजार ३ सय ४१ रुपैयाँ ९९ पैसा हिसाब विवरण प्रस्तुत गरेका थिए ।
त्यसैबीच अन्नदान, गुरुकुल , गौशालाको अक्षयकोष स्थापनाको लागि सनातन गौ संरक्षण (युएई) संस्थाबाट नगद ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । युएईका सदस्य सीता संग्रौला तथा नेपाल प्रतिनिधि खगेन्द्र प्रसाद निरौलाको उपस्थितिमा संस्थाका सचिव विमला संग्रौलाले धाम समितिका अध्यक्ष गट्टानीलाई रकम हस्तान्तरण गरेकी थिइन् ।
सो अवसरमा धामले संस्थाको उच्च मुल्यांकन गर्दै युएईको नाममा सचिव संग्रौलालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
गौ सेवा अक्षयकोष स्थापनाको लागि सहयोग गरिएको नेपाल प्रतिनिधि निरौलाले जानकारी दिए । अध्यक्ष गट्टानीको सभापतित्व र उपाध्यक्ष अम्बिका प्रसाद खतिवडाले संचालन गरेको कार्यक्रममा आजीवन सदस्यहरु विनोदकुमार दाहाल, इन्द्रमणि पौडेल , प्राचार्य खगेन्द्र प्रसाद निरौला लगायतले प्रतिवेदनमा उल्लेख गरेको विषयमाथि जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, अर्जुनधारा संस्कृत आदर्श माविका विव्यस का अध्यक्ष कमल गुरागाँई ,युएई का सदस्य सीता संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन समारोहमा धामका उपाध्यक्ष भीमचन्द्र भट्टराई र गुरुकुलका विद्यार्थी छत्रपति गुरागाँईले स्वागत मन्तव्य राखेका थिए भने प्राचार्य हेमन्त भण्डारी र बटुकहरुले स्वस्तिवाचन गरेका थिए ।







प्रतिक्रिया