Banner news

‘प्रशासनले कारबाही गरेको हो, हामीलाई दोष दिन मिल्दैन’

‘प्रशासनले कारबाही गरेको हो, हामीलाई दोष दिन मिल्दैन’


झापा । निर्माणाधिन एसियन हाइवेको एभ्रास्कन र कालिका जेभीले गन्डागर्दी गरेको आरोप लगाएपछि युवाहरुले त्यसको खण्डन गरेका छन् । प्रभावित नागरिकहरुलाई सहयोग गर्दा निर्माण पक्षले आरोप लगाएको भन्दै उनीहरुले पत्रकार सम्मेलन गर्दै खण्डन गरेका हुन् ।

झापाका युवाहरु राज आङदम्बे , सुरेश आले र राजेन्द्र उप्रेतीलाई कम्पनीले विभिन्न आरोप लगाउदै गुण्डागर्दी गर्दै मजदुरमाथि हातमात गरेको जनाएको छ । कम्पनीले असुरक्षा महसुस गर्दै काम नै बन्द गरेको एभ्रास्कन र कालिकाले जनाएको छ ।

मजदुरमाथि हातपात गरी गाडी कब्जा गरेको र गुन्डागर्दी गरेको भन्ने आरोप सरासर गलत भएको स्पष्ट पार्दै उनीहरुले स्थानीय नागरिकको गुनासो सुनुवाई नभएपछि आफूहरुले स्थानीय प्रशासनलाई जानकारीसम्म गराएको दावी गरेका छन् ।
आफूहरुलाई लक्षित गरी चरित्र हत्या गर्ने, सामाजिक मान प्रतिष्ठामा आँच पु¥याउने कार्य गरेको भन्दै उनीहरुले त्यसको घोर निन्दासमेत गरेका छन् ।

एशियन हाइवे निर्माणको क्रममा निर्माण कम्पनी एभ्रास्कन कालिका जोइन्ट भेन्चरले प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार नगरी अवैध तरिकाले चुरे जस्तो संवेदनशील क्षेत्रको दोहन गर्ने मनसायले मदन भण्डारी राजमार्गलाई प्रत्यक्ष असर पार्ने, स्थानीय जनताको दैनिकी समेतलाई असर गर्नेगरी माटो उत्खनन् गरेर पुरुवा ल्याउने काम गरिरहेकोले सोधपुछ गर्ने काम भएको उनीहरुले बताए ।

राष्ट्रिय गौरवको परियोजना एसियन हाइवे निर्माण पक्षले स्थानीय नागरिकलाई असर गर्ने काम हुनु हुदैन भन्दै प्रशासनलाई जानकारी गराएपछि केही सवारी नियन्त्रणमा लिएको थियो । प्रहरीले अवैध माटोसहित गाडि नियन्त्रणमा लिएको विषयमा आफुहरुलाई जोडेर प्रचार गरेको उनीहरुको धारणा छ ।

पत्रकार सम्मेलनमा उनीहरुले अवैध उत्खनन् रोक्नुपर्ने बताएका छन् । यो सवै नागरिकको दायित्व हो, उनीहरुले भने – प्रशासनले नरोकेपछि खवरदारी गरेका हौं ।

सम्बन्धित निकायबाट अनुमति नलिई, अनाधिकृत रुपमा उत्खनन् गरी हाइवेमा पुरुवा हाल्ने काम भइरहेको दावी गर्दै स्थानीय प्रभावित नागरिकहरुले स्थानीय प्रशासनलाई जानकारी गराएपश्चात् प्रहरीले नै पुरुवा ओसार्ने साधनलाई नियन्त्रणमा लिएको उनीहरुको भनाई छ ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामा सो उत्खनन्का सन्दर्भमा आवश्यक छानविन गरी कारबाहीको माग समेत गरेका छन् ।

शेयर गर्नुहोस :

7.2k
Shares