दमक । झापामा निर्वाचन लक्षित युवा तथा विद्यार्थीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र नंं ५ अनुगमन समिति संयोजक गीता अधिकारीसँग निर्वाचन परिचालन कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रियामा अधिकारीले ‘जेन–जी आन्दोलन’ को उद्देश्य, त्यसमा भएको घुसपैठ र त्यसले निम्त्याएको विध्वंसका विषयमा स्पष्ट पारिन् । लामो समय दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गरेकी अधिकारीसँग विद्यार्थीहरूले आन्दोलन किन र कसरी सुरु भयो भन्नेबारे जिज्ञासा राखेका थिए । उनका अनुसार आन्दोलन मूलतः सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा केन्द्रित थियो, तर शान्तिपूर्ण विद्यार्थी आन्दोलनमा घुसपैठ गरी केही समूहले हिंसा भड्काएको हो ।
अधिकारीले कलिला विद्यार्थीलाई उत्तेजित बनाई आगजनी, तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने कार्य भएको दाबी गरिन् । उनले भिडभित्र घुसपैठ गरी विद्यार्थीको टाउको ताकेर गोली हानिएको घटनालाई गम्भीर शंका योग्य विषय भएको बताइन् । सिंहदरबारदेखि सर्वोच्च अदालतसम्मका संरचनामा आगजनी हुँदा समेत दमकल प्रयोग नगरिनु योजनाबद्ध घटनाको संकेत भएको उनको भनाइ थियो ।
कार्यक्रममा दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आन्दोलनमा उक्साएर आफूहरूमाथि नै आक्रमण गराइएको गुनासो गरे । आफूहरूमाथि भएको उक्साहट र आक्रमणका विषयमा तत्काल बोल्न नसकेकोमा दुःख व्यक्त गर्दै उनीहरूले अझैसम्म कसैले सुन्ने प्रयास नगरेको बताए । यस्ता अन्तरक्रियाले संगठित भएर अघि बढ्ने मनोबल बढाएको उनीहरूको भनाइ थियो ।
युवा नेता तथा नेकपा एमालेका केन्द्रीय सदस्य मनोज ताम्लीले जेनजी आन्दोलनको वास्तविक अवस्था र त्यसभित्र लुकेको रहस्यबारे प्रस्ट पारेका थिए । अनेरास्ववियुका उपाध्यक्ष युनिक घिमिरे र सचिव अनिल पराजुलीले पनि आफ्ना जिज्ञासा राखेका थिए ।
छलफलमा ५० जनाभन्दा बढी युवाहरू र विद्यार्थीहरूको सहभागिता रहेको थियो । दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति रोशन भण्डारी र युवा संघ दमक नगर संयोजक सुदीप बनेम फागो समेतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया