बिर्तामोड

झापा कांग्रेसले तोक्यो कार्यबाहक सभापति

झापा कांग्रेसले तोक्यो कार्यबाहक सभापति


बिर्तामोड । नेपाली कांग्रेस झापाले उपसभापति शेरबहादुर भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको छ । आईतबार सम्पन्न जिल्ला कार्यसमिति बैठकले भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई मजबुत बनाउने उद्देश्यले उक्त निर्णय गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको विशेष उपस्थितिमा पार्टी झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले निर्वाचन सम्पन्न नहुँदासम्मका लागि भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

झापा क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि सभापति थेवे निर्वाचन अभियानमा केन्द्रित हुने भएकाले संगठनको दैनिक कार्य सञ्चालन सहज बनाउन भट्टराईलाई कार्यबाहक सभापति तोकिएको कांग्रेस झापा जिल्ला सदस्य रोशन बिष्टले जानकारी दिनुभयो ।

बैठकमा झापाका अर्का उपसभापति केशबराज पाण्डे पनि झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेको विषयमा समेत छलफल भएको थियो । निर्वाचनको समयमा पार्टीका प्रमुख नेताहरू उम्मेद्वारी प्रक्रियामा व्यस्त हुने भएकाले संगठनलाई सशक्त र एकताबद्ध बनाएर अघि बढाउन कार्यबाहक सभापतिको जिम्मेवारी तोकिएको नेताहरूले बताएका छन् ।

नवनियुक्त कार्यबाहक सभापति शेरबहादुर भट्टराई पार्टीभित्र अनुभवी र संगठनप्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस दमक नगर सभापति, क्षेत्र नम्बर–५ का क्षेत्रीय सभापति हुँदै महासमिति सदस्यको जिम्मेवारी सम्हालिसक्नु भएको छ । पार्टीको १४ औँ महाधिवेशनबाट उपसभापतिमा अत्यधिक मतसहित विजयी भट्टराईले झापामा पार्टी संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ ।

बैठकले आगामी निर्वाचनमा पार्टीलाई जिततर्फ लैजान एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

शेयर गर्नुहोस :

17.3k
Shares