अर्जुनधारा

अर्जुनधारामा रुद्रीपाठसहित अखण्ड हवनात्मक यज्ञको तयारी

अर्जुनधारामा रुद्रीपाठसहित अखण्ड हवनात्मक यज्ञको तयारी


शनिश्चरे । अर्जुनधारा जलेश्वरधाममा आगामी फागुन ३ गते महाशिवरात्री पर्वका दिन धार्मिक अनुष्ठान रुद्रीपाठसहित २४ घण्टा अखण्ड हवनात्मक यज्ञ एवं विविध कार्यक्रमको आयोजना गरिने भएको छ । धामद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा धाम समितिका अध्यक्ष नवीन गट्टानीले धार्मिक अनुष्ठानको बारेमा जानकारी गराएका हुन् ।

उनका अनुसार वातावरण शुद्ध, राष्ट्र शान्ति, उर्वरा शक्तिको बृद्धि साथै भक्ति –भाव , शान्ति प्राप्तिका लागि धार्मिक अनुष्ठान गरिन लागेको हो । सदा वर्षहरुमा झैं यस वर्ष पनि महाशिवरात्री पर्व अझ भव्यताका साथ सम्पन्न गर्ने धामको लक्ष्य रहेको छ ।

‘एक साँझ शिवका माझ’ भजन सन्ध्या कार्यक्रमलाई निरन्तरता दिनका लागि राष्ट्रिय स्तरका कलाकारद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य एवं स्थानीय कलाकारहरुबाट भगवान शिवजीको भजन प्रस्तुति हुनेछ । सो भजनले शिव क्षेत्र लाई मन्त्रमुग्ध बनाउनुका साथै भजनको माध्यमबाट शान्त र स्थिर चेतनाको जागृतका साथ भगवान शिवजीप्रति समर्पित गराउँछ भन्ने विश्वास रहेको छ ।

अध्यक्ष गट्टानीको सभापतित्व र महासचिव शिवलाल खतिवडाले संचालन गरेको कार्यक्रममा धामका मुल अर्चक अग्नी प्रसाद सिग्देलले आगामी फागुन ३ गते प्रभातकालिन ४ बजे शिवलिङ्गमा जलार्पण पूजापाठ गरिने जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजे देखि २४ घण्टा अखण्ड हवनात्मक रुद्रीपाठ यज्ञ गरिनेछ । हवन गर्न चाहने भक्तजनहरुका लागि घरबाट आफैंले चरु लिएर आउने भक्तहरुलाई हवन गर्ने व्यवस्था मिलाइनेछ । महाशिवरात्रीका ४ प्रहर पूजा , श्रृङ्गार – आरती ,साँझ ७ बजे देखि एक साँझ, शिवका माझ भजन सन्ध्या र फागुन ४ गते बिहान ८ बजे देखि तिलकपाती एवंम प्रसाद वितरण गरिनेछ ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका – ७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडा, धामका वरिष्ठ उपाध्यक्ष चन्द्रकला भण्डारी, उपाध्यक्ष भीमचन्द्र भट्टराई , कोषाध्यक्ष मनोज जोशी, सहकोषाध्यक्ष दिपक तामाङ, वरिष्ठ सदस्य चित्रसेन भण्डारी, सदस्यहरु भुपेन्द्र शिवाकोटी, ध्रुब कुमार पौडेल, रमेश त्रिखत्री लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

432
Shares