बिर्तामोड । गिरिबन्धु श्रमिक टोलका महिलाहरुलाई लक्षित गरेर पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सालबारी महिला नौमती बाजा समूहको आयोजनामा शनिवार एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा ८० जना महिलाहरूले प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् । पूर्वाञ्चल अस्पतालका एचडी डाक्टर डा. ज्योति भाजु लामाको नेतृत्वमा सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा मार्केटिङ इन्चार्ज गोविन्द खनाल, प्रशिक्षकहरू प्रतिमा कार्की, रेनु लिम्बु, सुनिता सोनाम, रुकमिना शर्मा, अरुण लकान्द्री लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
महिलाहरूमा क्यान्सरसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविर स्थानीय समुदायका लागि अत्यन्त प्रभावकारी, उपयोगी भएको आयोजक संस्थाले जनाएको छ । उक्त शिविर समूहकी अध्यक्ष इन्दिरा पोखरेलको अध्यक्षतामा तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन रोजिना पाण्डेले गरेकी थिइन् ।







प्रतिक्रिया