बिर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनका लागि मेची संयोजक डा. डिला संग्रौलाले पार्टीको नेतृृत्व र विचार बद्लिएको बताउँदै परिवर्तनको संवाहक नेपाली कांग्रेसलाई मत दिएर ठूलो पार्टी बनाउन आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न जिल्लाका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ-नगर सभापतिहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री संग्रौलाले यस्तो आग्रह गर्नुभएको हो ।

‘विशेष महाधिवेशनले गुटगत राजनीतिको अन्त्य भएको छ’ – नेतृ संग्रौलाले भन्नुभयो – ‘कांग्रेस एकजुट भएर निर्वाचनमा आएको छ, विचार बद्लिएको छ, नेतृत्व बद्लिएको छ । पार्टी बदलेर देश बदल्ने यात्रामा निस्किएको कांग्रेसलाई अब जनमत चाहिएको छ ।’ जेन जी मुभमेन्टले नेतृत्व परिवर्तन खोजेको र सोही अनुसार पार्टी परिवर्तित नेतृत्व लिएर आएको उहाँको भनाई थियो । देश संक्रमणकालीन अवस्थामा रहेको बताउँदै उहाँले हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको र अहिलेको परिवर्तित अवस्थाको नेतृत्वको अवसर पनि कांग्रेसलाई दिन मतदातासँग आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले इतिहास, राजनीतिक संस्कार र परिवर्तनको संवाहकको रुपमा रहेको कांग्रेसको पक्षमा देशभर जनलहर देखिएको बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले कांग्रेसमा नेतृत्व परिवर्तनसँगै देशभरका १०६ वटा क्षेत्रमा नयाँ एवं युवा अनुहारलाई उम्मेद्वार बनाएको बताउँदै परिवर्तनको नेतृत्व गर्ने अवसर दिन आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य सुरेश सुब्बा, केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेद्वार उमा शिवाकोटी, पूर्व केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाई लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुको तर्फबाट प्रेम सम्बाहाम्फे, दिपक तामाङ, इन्द्र कार्की, ओम विमली, पम्फा विक, लीला मैनाली, गोकुल श्रेष्ठ, विष्णु सुब्बा, इन्द्र बुढाथोकी लगायतले आ–आफ्ना क्षेत्रको निर्वाचन परिचालनका विषयमा बताउनुभएको थियो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत सहसचिव कमलप्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला, सुधिरकुमार शिवाकोटी, सुरेश सुब्बा, तारामान गुरुङ, उमा शिवाकोटी लगायतलाई कार्यबाहक सभापति भट्टराईले खादा लगाएर सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाईले नीति निर्माण गर्ने थलो प्रतिनिधिसभामा आफूले प्रतिनिधित्व गर्न पाएमा महिला सहभागिता ५० प्रतिशत पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल महिला संघ निर्वाचन प्रचार–प्रसार समिति क्षेत्र नं–२ को आयोजनामा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न २ नम्बर क्षेत्रस्तरीय महिला भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेतृ प्रसाईंले आफूले संविधानसभामा प्रतिनिधित्व गर्दा राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको नीतिगत ब्यवस्था पारित गरेको स्मरण गर्नुभयो ।
‘अब अवसर पाए नीतिगत रुपमै महिला सहभागिता ५० प्रतिशत पु¥याउन पहल गर्नेछु’–नेतृ प्रसाईले भन्नुभयो–‘महिलाले सहजै अधिकार प्राप्त गर्ने अवस्था छैन, नेतृत्वसँग खोसेरै लिनुपर्ने अवस्था अहिले पनि छ ।’ अन्य पार्टीको तुलनामा महिला अधिकार रक्षामा कांग्रेस अगाडि रहेको उहाँको भनाई थियो ।
अन्य जनप्रतिनिधिको तुलनामा आफ्नो क्षेत्रमा आफूले उल्लेख्य विकास निर्माणका कार्य गरेको दावी गर्दै उहाँले प्रत्यक्ष निर्वाचित भएमा नीति निर्माण र विकास निर्माण दुवै क्षेत्रमा काम गरेर देखाउने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेद्वार उमा शिवाकोटीले २००७ सालदेखि संविधान निर्माणसम्मका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताउँदै सबै दललाई एकैठाउँमा उभ्याउने तागत कांग्रेसमा मात्रै रहेको बताउनुभयो ।
देश संक्रमणकालीन अवस्थामा रहेको र जेनजी पुस्ताले खोजे अनुसार कांग्रेसमा युवा नेतृत्व आएको बताउँदै नेतृ शिवाकोटीले मुलुक र लोकतान्त्रिक ब्यवस्थालाई बचाइराख्न कांग्रेसलाई ठूलो शक्ति बनाउन आम मतदातामा अपिल गर्नुभयो ।
अर्का समानुपातिक उम्मेद्वार मनमाया विश्वकर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रुख चिन्हमा मतदान गरी लोकतान्त्रिक ब्यवस्थाको रक्षाका लागि कांग्रेसलाई ठूलो शक्ति बनाउन आग्रह गर्नुभयो ।
नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्मला गुरुङ, सिता ढकाल उप्रेती, यसोदा उप्रेतीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । सिता चुडाल सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रभा पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला, सुधिरकुमार शिवाकोटी, सुरेश सुब्बा, तारामान गुरुङ, उमा शिवाकोटी लगायतलाई स्वागत गरिएको थियो ।







प्रतिक्रिया