Banner news

लाखौं रकमको हिसाव ‘गायव’, अदुवा खोला सिँचाई आयोजना अलपत्र

लाखौं रकमको हिसाव ‘गायव’, अदुवा खोला सिँचाई आयोजना अलपत्र


झापा । झापाको बाह्रदशीमा रहेको अदुवा खोला सिँचाई आयोजना अलपत्र भएको छ । अघिल्लो समितिले अस्पष्ट हरहिसाव बुझाएपछि परियोजनाको विकाससँगै अन्य प्रशासनिक कामहरु प्रभावित भएको हो ।

बिर्तामोड–१० र बाह्रदशी –५ मा पर्ने सिँचाई आयोजना सो क्षेत्रको ठुलो परियोजना हो । हल्दिवारी १ र बाह्रदशी वडा नं. २,३ र ५ मा सिँचाई हुने आयोजना अलपत्र अवस्थामा पुगेको वर्तमान अध्यक्ष मानप्रसाद संग्रौलाले जानकारी दिए । अदुवा खोला सिँचाई आयोजनाका अध्यक्ष संग्रौलाले ८ सय विघाभन्दा धेरै जमिनमा सिँचाई हुने आयोजना अलपत्र अवस्थामा पुग्नु अघिल्लो समिति मुख्य दोषी रहेको बताएका छन् ।

२०८१ पुस ८ गते अध्यक्षको कार्यभार सम्हालेका संग्रौलालाई १४ गते अख्तियारले पत्र पठाएको थियो । उक्त आयोजनामा ठुलो आर्थिक चलखेल भएको मुद्दा बारे पत्र आएपछि संग्रौला चकित भएको बताए । सिँचाई आयोजनामा आर्थिक अनियमितता भएको मुद्दा अहिले पनि अख्तियारमै छ । उनले अघिल्लो समितिमाथि मुद्धा दर्ता भएको जानकारी दिए ।

यसअघिको समितिमा अध्यक्ष दिनेश थापा र सचिव प्रकाश पाठक रहेका थिए । उनीहरुको समितिले आफ्नो नाममा आयोजनाको खाताबाट लाखौं रुपैयाँ निकालेको देखिन्छ । अध्यक्ष थापा, सचिव पाठक र कोषाध्यक्ष लोकबहादुर ओलीको नाममा रकम निकालेको देखिन्छ, संग्रौला भन्छन् – कुन विधिले त्यो रकम निकालियो ? के प्रयोजनाका लागि निकालियो ? कहाँ निर्णय गरिएको छ ? हामीलाई थाहा छैन ।

अध्यक्ष थापाको नाममा साढे ४ लाख, सचिव पाठकको नाममा ५ लाख र कोषाध्यक्ष ओलीको नाममा २ लाखभन्दा बढी रकम निकालिएको बैंक स्टेटमेन्टमा उल्लेख छ । धरौटी खाताको रकम बाहिर निकालेको कुरा उपभोक्ताले थाहा पाएपछि चर्को विरोध भएको थियो । विरोधको स्वर बढेपछि उनीहरुले पुनः सोही खातामा रकम जम्मा गरेका थिए ।

अध्यक्ष संग्रौलाका अनुसार त्यही पैसा निकालेको र जम्मा गरेको विषय अघिल्लो समितिले बुझाएको हिसावमा उल्लेख छैन । स्टेटमेन्टमा देखिन्छ, बुझाएको हिसावमा देखिदैन, उनले भने – सो घटनाका कारण संस्था नविकरण गर्न सकिएको छैन । संस्था नविकरण नगरेकै कारण सिँचाई आयोजनामा बजेट प्राप्त हुन सक्ने अवस्था रहेन । उनले सयौं विघामा सिँचाई गर्ने आयोजना प्रभावित हुँदा किसान मारमा पर्ने जानकारी दिए ।

आयोजनालाई हरेक वर्ष सिँचाई डिभिजन, प्रदेश सरकार र संघीय सरकारको सहयोग हुँदै आएको थियो । अहिले संस्था नविकरण गर्न नसकेपछि बजेट माग गर्ने बाटो पनि हराएको छ । हेड बक्स निर्माण सम्पन्न भइसकेपछि शाखा पैनी निर्माण गर्न १६-१७ करोड रुपैँया लागत स्टमेट गरिएको छ ।

अध्यक्ष संग्रौलाले अघिल्लो समितिमा वेथिति चिर्न पठाएको व्यक्तिबाटै संस्था अस्तव्यस्त भएको गुनासो गरे । संस्थाको धरौटी रकम चलाएर संस्थालाई विजोग अवस्थामा पुराउन सचिव पाठकको भूमिका रहेको उनको आरोप छ । किसानको हितमा काम गर्न पठाएको व्यक्ति प्रकाश पाठक थिए, उनले आयोजनालाई उल्टै अस्तव्यस्त बनाए । उपभोक्ताहरुको प्रश्न झेल्न नसकेर नैतिकताका आधारमा विदा भएको उनको भनाई छ । उनै पाठक झापा क्षेत्र नं. ३ मा अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् ।

अध्यक्ष संग्रौलाका अनुसार धरौटी खातामा भएको रकम साधारण खातामा सार्न गरेको माइन्यूट पनि च्यातेर फालिएको छ । प्रकाश जी सचिव रहेको संस्थाको निर्णयलाई च्यातेर फाल्ने काम हुनुलाई सामान्य रुपमा लिन सकिन्न, उनले भने – एउटा युवाले आफ्नै गाउँको किसानको संस्थालाई बेहाल बनाउदा धेरै दुख लागेको छ । सचेत युवाले संस्थालाई राम्रो बनाउलान् भनेर पठाएको विगारेर निस्किए, उनले थपे ।

संस्थाका पूर्वअध्यक्ष दिनेश थापाले आफ्नो कार्यसमितिबाट प्रक्रियागत त्रुटि भएको स्वीकार गरेका छन् । इजलाससित कुरा गर्दै भने, गल्ती भएको स्वीकार गरिसकेको छ । एउटै विषयलाई उठाइरहनु राम्रो होइन । संस्था नविकरण नै हुन नसक्ने अवस्थामा पुराउनु भएछ भन्ने जिज्ञासामा जवाफ दिदैं उनले भने – खाताबाट पैसा निकालेको कुरा उल्लेख गरिएको छैन । तर, नविकरणका लागि मैलै सहजीकरण गर्छु भनेकै छु । अघिल्लो समिति र अहिलेको समितिबीच सहमति भए नविकरणमा समस्या हुदैन ।

संस्थाको खाताबाट पैसा निकालेको हिसाव अघिल्लो समितिले बुझाएको कारोवारमा नभएका कारण अहिले लेखापरीक्षणका समस्या भएको वर्तमान अध्यक्ष संग्रौलाको भनाई छ । पूर्वअध्यक्ष थापाले हिसाव बुझाए पनि त्यसबेला निकालिएको पैसाको कारोवार उल्लेख नगर्नु गल्ती भएको बताए ।

शेयर गर्नुहोस :

1.4k
Shares