बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारेख राख्नु व्यावहारिक रूपमा अर्थहीन भएको बताएका छन्।
भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सर्वोच्चले यत्रो ठूलो संवैधानिक प्रश्नमा समयमै फैसला गर्नुपर्ने भएपनि नगरेको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘अब सर्वोच्च अदालत यत्रो संवैधानिक प्रश्नमा अल्झिएको छ, यो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्दथ्यो। निर्वाचनपछि साधारण तारेख यस मुद्दा सम्बन्धी साधारण तारेख व्यावहारिक रूपमा अर्थहीन छ, प्रयोजनहीन छ। सैद्धान्तिक रूपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला, एउटा नजिर त बस्ला, जे बस्ला। तर न्याय अर्थपूर्ण हुनुपर्दछ।’
उनले निर्वाचनपछि सर्वोच्चको फैसला म्याद गुज्रिएको औषधिजस्तो हुने टिप्पणी गरे। भदौ २३–२४ गते आगजनी, लुटपाट, तोडफोड, भयानक हिंसा, सार्वजनिक सम्पत्तिदेखि लिएर राज्यका प्रमुख अङ्गहरूका कार्यालयहरू, तिनका संरचनाहरू ध्वस्त गर्नेदेखि लिएर निजी संघसंस्था, औद्योगिक प्रतिष्ठान, व्यापारिक फर्महरूदेखि राजनीतिक दलका कार्यालय र लोकतान्त्रिक, देशभक्त राजनीतिक दलका नेता कार्यकर्ताका सार्वजनिक वा आफ्ना निजी सम्पत्तिहरू जलाउने काम भएको बताए।
उनले थपे, ‘यो अत्यन्तै आपराधिक मनोवृत्तिको, नेपाली समाजमा हुनै नहुने खालको काम भयो। दुःखलाग्दो कुरा, त्यति मानिसहरूको ज्यान गयो, अत्यन्तै दुःखद कुरा हो। यो एउटा दुःखद स्थिति भयो। अब त्यस स्थितिबाट देशको सार्वभौमसत्तालाई, स्वाधीनतालाई, स्वतन्त्रतालाई जोगाएर देशलाई राजनीतिक रूपले एउटा स्वतन्त्र राष्ट्रको रूपमा र आर्थिक हिसाबले आत्मनिर्भर राष्ट्रको रूपमा अगाडि जानै पर्छ, उभिनै पर्छ।’







प्रतिक्रिया