Banner news

झापामा ‘हाहाकार’ हल्लाले ग्यासको माग बढ्यो

झापामा ‘हाहाकार’ हल्लाले ग्यासको माग बढ्यो


प्रदीप परियार 

बिर्तामोड । झापा बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको खनाल सप्लायर्समा मंगलवार साँझ ग्यास लिनेहरुको भीड लाग्यो । उपभोक्ताले एकैछिनमा ९० वटा ग्यास सिलिण्डर लिएर घरघर तिर लागे ।

ग्यास अभावको होहल्लाले उपभोक्ताहरु ग्यास विक्रेतालाई केहिदिन देखि ताकेता गर्दै आएका छन् । खनाल सप्लायर्सका सञ्चालक लक्ष्मी खनालले हल्लाकै कारण उपभोक्ताहरु आत्तिएको प्रतिक्रिया दिएका छन् । काठमाडौं लगायत विभिन्न स्थानमा ग्यासको हाहाकार भन्ने समाचारले झापाका उपभोक्ता समेत त्रसित भए । नियमित ग्यास बिक्रीभन्दा अहिले चाप भएको उनको भनाई छ । मंगलवार ९० वटा ग्यास आयो, एकैछिनमा उपभोक्ताले लिएर गए, खनालले भने – ग्यास नियमित नै आइरहेको छ । हाहाकार भएको अनुभव छैन ।

बिर्तामोडमा गौतम राजवंशीले त्यहाँबाट ग्यास खरिद गरेर लगे । उनका अनुसार सिलिण्डर खाली भएकै कारण अर्को भरी सिलिण्डर खरिद गरेको हो । बजारमा ग्यासको हाहाकार छ भन्ने सुनेको उनले बताए । एउटा खाली पनि थियो, हल्ला पनि सुनियो, उनले भने – त्यसैले एउटा ग्यास जोहो गरियो ।

बिर्ताबजारकी मेनुका घिमिरेले हाहाकार भएको कुरा नसुनेको बताइन् । छिटपुट मान्छेबाट सुने जस्तो लाग्छ, उनले भनिन् – तर घरमा ग्यास सकिएकै कारण एउटा लगे ।

काँकरभिट्टामा कनकाई ग्यास विक्रि गर्दै आएका पुण्यप्रसाद उप्रेतीले उपभोक्ताहरु हल्लाको पछि लागेको बताए । ग्यास जसरी उधोगले उपलब्ध गराइरहेको छ, त्यो कम छैन । उनका अनुसार माग बढेको मात्रै हो, आयात उस्तै छ ।
बिर्तामोडका लक्ष्मी खनालले १ हजार सिलिण्डर आउने समयमा १२ सय आएको बताए । ग्यास नियमित नै छ, उनले भने – हल्लाकै कारण उपभोक्ताहरु खाली सिलिण्डर बोकेर आए जस्तो लाग्छ ।

बिर्तामोडका एक उपभोक्ता समर्पण नेपालीले मंगलवार ग्यास ल्याउने ठाउँमा बुझ्दा आइतवार मात्रै आउने खवर पाए । नियमित ग्यास ल्याइरहेको ठाउँमा बुझ्दा ढिलो आउने खवरका कारण हाहाकार नै हो कि भन्ने उनको आशंका छ ।

मेची ग्यासका सञ्चालक मार्स प्रसाईले उद्योगले नियमित रुपमा डिलरहरुमा ग्यास पठाइरहेको जानकारी दिए । उद्योगमा भारतबाट आउने ग्यास पनि नियमित नै आइरहेको उनको भनाई छ ।

नेपाल–भारतमा आयातमा सामान्य समस्या देखिए पनि अहिल्यै बजारमा हाहाकार भनेजस्तो भएको छैन । एभरेजमा ८०,९० प्रतिशत ग्यास पठाइराखेका छौं, उनले भने ।

भारतीय समाचार र काठमाडौंमा हाहाकार भनेको हल्लाले झापामा पनि उपभोक्ताहरुले स्टोक गरेको हुन सक्ने प्रसाईको भनाई छ । प्रसाईले फागुन महिनाभर ग्यास सहजै उपलब्ध गराउन सक्ने र त्यसपछि आयातमा निर्भर हुने जानकारी दिए ।

शेयर गर्नुहोस :

270
Shares