बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका–१ स्थित श्री शङ्कराचार्यपीठ साधुटारमा तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव आयोजना हुने भएको छ। फागुन २८ देखि ३० गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लक्षित गर्दै पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको संरक्षकत्वमा तथा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो। यसबारे मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो।

महोत्सवमा भारतबाट २० जना तथा नेपालका विभिन्न जिल्लाबाट करिब ५० जना स्रष्टाको सहभागिता रहने त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य पर्यटन महोत्सव २०८२ का संयोजक डा. गोपीकृष्ण खतिवडाले बताए। कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रा.डा. देवी नेपाल, प्रा.डा. नारायण गड्तौला, डा. कर्णेश्वर खतिवडा, डा. दीपकप्रसाद न्यौपाने, सह–प्रा. महेश पौडेल र शिव रेग्मी प्रणत विषयविज्ञका रूपमा सहभागी हुनेछन्।
यसैगरी प्रसिद्ध भजन गायक जुनियर अनुप जलोटा, गजलकार समन स्मारिका, अनन्त अनुराग, रोहित पराजुली, राधा पाण्डे, छन्दकवि टीका आत्रेय र छवि वैरागी लगायतका स्रष्टाहरूको प्रस्तुति रहनेछ। साथै मिस कस्मो २०८२ की विजेता दीशिक्षा नेपालको पनि विशेष प्रस्तुति रहने जनाइएको छ। महोत्सवको मूल समारोहमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
नेपालको एकमात्र शङ्कराचार्यपीठ साधुटार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउने, पूर्वीय दर्शन, वेद र उपनिषदमा आधारित साहित्यिक विमर्शमार्फत बौद्धिक पर्यटनको विकास गर्ने तथा नेपाल–भारत लगायतका देशका विद्वान, सन्त–महन्त र साहित्यकारबीच वैचारिक तथा सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको शङ्कराचार्यपीठ साधुटारका संस्थापक लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए।
कार्यक्रम अन्तर्गत फागुन २८ गते साँझ ६ बजेदेखि १० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, जसमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। फागुन २९ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म झापाका विभिन्न गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूलाई छन्द तथा गद्य कविता लेखनसम्बन्धी प्रशिक्षण दिइनेछ। सोही दिन साँझ ६:३० बजेदेखि १० बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा भजन तथा गजल प्रस्तुत गरिनेछ।
फागुन ३० गते महोत्सवको मूल समारोह सम्पन्न गरिनेछ। उक्त अवसरमा साहित्य तथा पर्यटनसम्बन्धी तीन वटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ। साथै कार्यक्रम अवधिभर पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी, जनचेतनामूलक गतिविधि तथा बिहान ४ बजेदेखि ६ बजेसम्म त्रिदिवसीय योग शिविर सञ्चालन गरिनेछ। आश्रममा दैनिक हुने नित्य वैदिक कर्मको विशेष प्रस्तुति पनि रहनेछ।
आयोजकका अनुसार कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन र श्री शङ्कराचार्यपीठ साधुटार क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महोत्सव महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ।







प्रतिक्रिया