लक्ष्मी उप्रेती
मेचीनगर – झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘घुमौँ झापा साइकलमा’ अभियान सुरु गरिएको छ। झापा साइक्लिङ क्लबले आयोजना गरेको यो कार्यक्रम शनिबार मेचीनगर–६ काँकरभिट्टास्थित पर्यटन कार्यालय परिसरबाट सुरु भएको हो।
सामूहिक साइकल यात्रामार्फत झापाको पर्यटन प्रवद्र्धन गर्नुका साथै महिला तथा युवालाई साहसिक गतिविधिमा सहभागी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। यस अभियानले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय अर्थतन्त्र, विशेषगरी होटल, होमस्टे र भोजन सेवामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

साइकल यात्राको उद्घाटन कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए। कार्यक्रममा बोल्दै उनले साइक्लिङले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “साइक्लिङले एकातिर पर्यटन प्रवद्र्धन गर्छ भने अर्कोतर्फ वायुप्रदूषण न्यूनीकरण गर्न पनि सहयोग पुर्याउँछ,” उनले भने।
झापाका पर्यटकीय स्थल, सिमसार क्षेत्र, धार्मिकस्थल तथा ग्रामीण भूभागलाई जोड्दै जिल्लालाई साइकलमैत्री गन्तव्यका रूपमा चिनाउने उद्देश्य कार्यक्रमको रहेको क्लबका सचिव हिमाल खरेलले जानकारी दिए। कार्यक्रमअन्तर्गत झापाका १२ पालिकाको साइकलमार्फत यात्रा गरिनेछ। मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबारी र बिर्तामोडमा साइकल यात्रा गरिनेछ।
यात्राको पहिलो दिन बाहुनडाँगी–४९ धारा–मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम हुँदै जामुनखाडी सिमसारबाट दोमुखासम्म यात्रा गरिएको छ।
दोस्रो दिन करिब ८० किलोमिटरको यात्रा तय गरिएको छ। दोमुखाबाट सुरु भएको यात्रा माईधार, चिल्लागढधाम, शिवगञ्ज बजार, चौरी, हुलाकी मार्ग, झापा बजार, राजगढ, जलथल जंगल हुँदै बनियानी बजारमा पुगेर टुंगिनेछ।
तेस्रो तथा अन्तिम दिन करिब ५० किलोमिटरको यात्रा हुनेछ। बनियानीबाट सुरु हुने यात्रा किच्चकबध, भद्रपुर, हल्दिबारी हुँदै विराटपोखरी भएर बिर्तामोडमा समापन गरिनेछ।
यात्रामा तीन महिलासहित नेपाल र भारतका गरी ५० जना साइकलयात्री सहभागी भएका छन्। साथै २० जना गाइड, मेकानिक तथा स्वयंसेवक पनि यात्रामा संलग्न छन्।
झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा उदीयमान पर्यटन मार्गलाई उजागर गर्दै साइकललाई वातावरणमैत्री पर्यटन माध्यमका रूपमा स्थापित गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष आकाश श्रेष्ठले बताए।
कार्यक्रमका लागि बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल आधिकारिक मेडिकल पार्टनरका रूपमा रहेको छ। यात्राका क्रममा दुर्घटना वा स्वास्थ्य समस्या भएमा एम्बुलेन्समार्फत उद्धार र उपचारमा सहयोग गर्ने सहमति भएको आयोजकले जनाएको छ।
यसैगरी, कार्यक्रमको आधिकारिक बीमा पार्टनर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड रहेको छ। बीमा सम्झौताअनुसार दुर्घटनामा घाइते भए उपचारका लागि एक लाख रुपैयाँ र मृत्यु भएमा एक लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिनेछ। ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम फागुन ३० गतेदेखि सुरु भई चैत २ गतेसम्म दुई रात तीन दिन सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, पर्यटन मञ्च झापाका अध्यक्ष उदयकुमार श्रेष्ठ, नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेललगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका अध्यक्ष आकाश श्रेष्ठले अध्यक्षता गरेका थिए भने उपाध्यक्ष प्रज्वल बिमलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।







प्रतिक्रिया