Banner news

झापामा हावाहुरीले केराखेती नष्ट, लाखौंको क्षति

झापामा हावाहुरीले केराखेती नष्ट, लाखौंको क्षति


गणेश कोइराला

बिर्तामोड । झापामा हावाहुरीसहित परेको अविरल वर्षाका कारण केरा र मकै खेतीमा ठुलो क्षति पुगेको छ । फागुन २८ गते राति आएको हावाहुरीले दक्षिण क्षेत्रका किसान मार्कामा परेका हुन् ।

वर्षासहित आएको हावाहुरीका कारण केरा खेती र मकैबालीमा लाखौंको क्षति भएको किसानहरुले बताएका छन् । झापाको झापा गाउँपालिका–७ मा हावाहुरी र वर्षाले केराखेतीमा ठूलो क्षति पु¥याएको छ । किसानहरूका अनुसार करिब दुई विगाह दुई कठ्ठा क्षेत्रफलमा लगाइएको ३२ सय बोट केरा हावाहुरीले ढालेर नष्ट पारेको छ । उत्पादन दिने तयारीमा रहेको केरा बोटहरू भाँचिएपछि वर्षभरि गरेको मेहनत खेह्र गएको उनीहरूको भनाइ छ ।

किसान चन्द्रप्रसाद बस्नेतले सञ्चालन गरेको साधना संस्कृति नमूना प्रालि अन्तर्गत गरिएको केरा खेतीमा मात्रै करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । बस्नेतका अनुसार उनले करिब ३० बिगा क्षेत्रफलमा केरा खेती गरेका छन् । उत्पादन दिनै लाग्दा आएको हावाहुरीले धेरै बोट ढालेर नष्ट गरेपछि चिन्ता व्यक्त गरेका छन् ।

त्यस्तै किसान पूजा खनालले पनि करिब १० बिगा क्षेत्रफलमा लगाएको केरा खेतीमा क्षति भएको बताएकी छन् । किसानहरूका अनुसार प्राकृतिक विपत्तिका कारण वर्षमै पटक–पटक खेतीमा क्षति पुग्ने गरेको छ । बैंकबाट लिएको ऋणसमेत तिर्न कठिन हुने अवस्था आएको भन्दै उनीहरूले कृषि बिमा, राहत र क्षतिपूर्ति उपलब्ध गराउन राज्यसँग आग्रह गरेका छन् ।

वर्षभरि पसिना बगाएर लगाएको खेती एकै रातमा नष्ट हुँदा किसानहरू निराश बनेका छन् । झापामा आएको हावाहुरीका कारण कृषिबालीसहित तरकारी तथा केरा खेतीमा ठूलो क्षति पुगेको हो । गत असोजमा पनि बाढीका कारण झापा गाउँपालिकामा लगाएको केरा खेतीमा समेत ठूलो क्षति पुगेको थियो । किसानले बिमा गरेको रकम भुक्तानी नै पाउन नसकिने भन्दै यस्तै अवस्था रहेका किसान नेपालमा टिक्न नसक्ने दुखेसो पोखे । कृषिमा भएको क्षतिको विवरण संकलन गरेर तत्काल भुक्तानी दिनुपर्ने उनीहरुको भनाई छ ।

शेयर गर्नुहोस :

378
Shares