Banner news

मेचीनगरका उद्योगी-व्यवसायी आन्दोलित हुने चेतावनी

मेचीनगरका उद्योगी-व्यवसायी आन्दोलित हुने चेतावनी


लक्ष्मी उप्रेती

मेचीनगर । झापाको मेचीनगर नगरपालिका उद्योगी–व्यवसायीप्रति जिम्मेवार नभएको आरोप लगाउँदै स्थानीय व्यवसायीहरुले नगर सञ्चालन शैलीप्रति असन्तुष्टि जनाएका छन् । नगर नेतृत्वले व्यवसायीका समस्या बेवास्ता गरेको भन्दै उनीहरुले सडक आन्दोलनसम्म जाने चेतावनी दिएका छन् ।

कुनै समय “हङकङ मार्केट”का रूपमा परिचित धुलाबारी बजारका व्यवसायीहरू पछिल्लो समय नगर नेतृत्वसँग रुष्ट देखिएका छन् । आफ्ना समस्या लिएर पटक–पटक नगरपालिका पुगे पनि मागपत्र, अनुरोधपत्र र ज्ञापनपत्रप्रति खासै चासो नदिएको उनीहरुको गुनासो छ ।

पछिल्लो समय मेचीनगर–१० को धुलाबारी मोडदेखि बजार क्षेत्र हुँदै मेचीनगर–९ स्थित खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वन कार्यालयसम्म निर्माण भइरहेको सहिदमार्गको काम अत्यन्तै सुस्त गतिमा भइरहेको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । सडक निर्माण ढिलो हुँदा बजार क्षेत्रका व्यवसायीहरू प्रत्यक्ष मारमा परेको उनीहरुको भनाइ छ ।

मेची उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष खेमराज प्रसाईंका अनुसार सडक निर्माण ढिलाइका कारण स्थानीय व्यवसायीले ठूलो सास्ती खेप्नुपरेको छ । “सडकको अवस्थाले व्यापार चौपट्ट भएको छ । पसलमा राखिएका सामान धुलोका कारण बिग्रिने अवस्थामा पुगेका छन्,” उनले भने, “पटक–पटक नगरपालिका पुगेर ध्यानाकर्षण गराउँदा पनि स्थानीय सरकार गम्भीर देखिएको छैन ।”

विशेषगरी मेचीनगर–९ को वडा कार्यालयदेखि मेचीनगर–१० को धुलाबारी मोडसम्म सडक निर्माण अवरुद्ध हुँदा समस्या बढेको व्यवसायीहरूको भनाइ छ। सडक स्तरोन्नतिका क्रममा पुरानो बाटो भत्काएर ढल निर्माणका लागि खाल्डो खनेर आंशिक काम गरेपछि लामो समयदेखि निर्माण कार्य रोकिएको बताइएको छ ।

सडक निर्माण अवरुद्ध हुँदा व्यवसायमा नकारात्मक असर परेको र बैंकको ब्याज तथा घरभाडा तिर्न समेत समस्या भएको भन्दै व्यवसायीहरूले संघमा निरन्तर गुनासो गरिरहेको अध्यक्ष प्रसाईंले बताए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का बेला पनि झापा क्षेत्र नम्बर १ का उम्मेदवारहरूलाई उक्त समस्या उठाइएको उनले जानकारी दिए ।

व्यवसायीहरूका अनुसार वर्षायाममा सडकको अवस्था अझ जटिल हुने गरेको छ। “हामीले नगरपालिकामा पटक–पटक ज्ञापनपत्र बुझायौँ, तर न जनप्रतिनिधिले सुने, न कर्मचारीले,” अध्यक्ष प्रसाईंले भने, “अब यो सडक निर्माण अघि बढाउन जे गर्नुपर्छ, यहाँका व्यवसायी तयार छन् । आवश्यक परे नगरपालिका तालाबन्दीसमेत गर्न पछि हट्ने छैनौँ ।”

समस्या समाधानका लागि मेची उद्योग वाणिज्य संघले छिट्टै उद्योगी–व्यवसायीहरूको बृहद् भेला बोलाउने तयारी गरेको छ। संघका उद्योग उपाध्यक्ष भूमि पौडेलले अब आन्दोलनको विकल्प नरहेको बताए । “हामीले राजनीतिक दललाई समेत साथ लिएर नगरपालिकाको ध्यानाकर्षण गरायौँ, तर सुनुवाइ भएन,” उनले भने, “अब सडक आन्दोलनमार्फत नै समाधान खोज्ने तयारीमा छौँ ।”

यता निर्माण कम्पनी एनएनटी डेभलोपर्स प्रालिको तर्फबाट काम गरिरहेको कञ्चल निर्माण सेवाका इञ्जिनियर सरोज साहले नगरपालिकाले समयमै साइड खाली नगरेको तथा कामबापतको रकम भुक्तानी नगरेका कारण ढिलाइ भएको स्वीकार गरे । उनका अनुसार निर्माण कम्पनीले करिब दुई करोड ७५ लाख रुपैयाँ बराबरको बिल नगरपालिकामा पेश गरिसकेको छ ।

विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरमा सहिदमार्ग र सूर्योदय मार्ग गरी करिब १४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि बढाइएको हो । उक्त परियोजनाका लागि विश्व बैंकले करिब ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) ऋण उपलब्ध गराएको छ ।

सहिदमार्ग अन्तर्गत धुलाबारी मोडदेखि थोप्लेबिरान सामुदायिक वन कार्यालयसम्म ५.३ किलोमिटर सडक १२ मिटर चौडाइ, डबल लेन तथा ड्रेनेज प्रणालीसहित निर्माण हुने योजना छ । यसैगरी सूर्योदय मार्ग अन्तर्गत काँकरभिट्टाको भट्टराई चोकदेखि बाहुनडाँगी बजारसम्म ८.५ किलोमिटर सडक ११ मिटर चौडाइमा निर्माण हुने परियोजना रहेको छ ।

सम्झौता अनुसार उक्त सडक २०८२ असार ३१ भित्र सम्पन्न गर्नुपर्ने भए पनि काम नसकिएपछि पुस १५ सम्म म्याद थप गरिएको थियो । तर म्याद थपिएको समय पनि बितिसक्दा निर्माण कार्य अझै सुस्त गतिमा रहेको भन्दै स्थानीय व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।

शेयर गर्नुहोस :

270
Shares