Banner news

शिवसताक्षीमा सडक स्तरोन्नति तीव

शिवसताक्षीमा सडक स्तरोन्नति तीव


रिङ्गरोडसहित दर्जनौँ सडक निर्माण जारी

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरभित्रका सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले विभिन्न वडामा सडक निर्माण तथा कालोपत्रे गर्ने काम धमाधम अघि बढाएको हो ।

नगरपालिकाका अनुसार दुधे–शिवगञ्ज सडक अन्तर्गत थप ६ सय मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । त्यस्तै नगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको रिङ्गरोड परियोजना अन्तर्गत वडा नं. ४ मा ७३५ मिटर र वडा नं. १० मा १ किलोमिटर सडक निर्माणको काम जारी रहेको छ ।

वडा गौरवका योजनाअन्तर्गत विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । जसअनुसार वडा नं. १० को ट्याक्रामा ३०० मिटर, वडा नं. ४ मा ४२० मिटर, वडा नं. १ मा माझी गाउँदेखि लक्ष्मीनारायण विद्यालयसम्म ३४२ मिटर तथा वडा नं. २ मा मोती माध्यमिक विद्यालयबाट मंगलबारे बजार जोड्ने ४१० मिटर सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ ।

त्यसैगरी वडा नं. ९ र १० को आइतबारेबाट माइधार जोड्ने रिङ्गरोड अन्तर्गत १०५० मिटर सडक निर्माण कार्य पनि अघि बढाइएको छ । नगरप्रमुख मेगाहाङ थोप्रा ले सडक कालोपत्रेका लागि नगरवासीको माग अत्यधिक रहेको भन्दै बजेटले भ्याएसम्म यस वर्ष धेरै सडक निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकका विभिन्न समस्या भए पनि सडक निर्माणको माग पहिलो प्राथमिकतामा परेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा समयमै काम सम्पन्न गर्ने लक्ष्यसहित मंसिर महिनादेखि नै सडक निर्माणको काम सुरु गरेका छौँ । केही सडक कालोपत्रे भइसकेका छन् भने धेरै सडक कालोपत्रे गर्ने चरणमा छन् ।”

यसैबीच वडा नं. ९ स्थित झरना खोला पश्चिमबाट दक्षिण सुन्दरपुर, मोरङ्गे खाडी हुँदै नगरको रिङ्गरोड जोड्ने २७०० मिटर सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ । नगरपालिकाका अनुसार उक्त सडकमा हाल सब–बेसको काम सम्पन्न भइसकेको छ । सो सडक सहरी विकास मन्त्रालय अन्तर्गत करिब ३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हो ।

त्यस्तै तीनकुने चौकदेखि मंगोलियन चौक हुँदै रिङ्गरोड जोड्ने २२४० मिटर सडक पनि करिब ३ करोड रुपैयाँको लागतमा निर्माण कार्य अघि बढाइएको छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बाट विनियोजित ३ करोड रुपैयाँको बजेटबाट शिवसताक्षी–८ सम्झना चौक देखि मायालु चौक जोड्ने २२०० मिटर सडक कालोपत्रेका लागि ठेक्का भई निर्माणाधीन अवस्थामा रहेको छ ।

यसैगरी विकास चौक दक्षिण संगम चौक, प्रगति चौक हुँदै मंगलबारे जोड्ने २५०० मिटर सडक पनि करिब ३ करोड रुपैयाँको लागतमा निर्माणाधीन रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आगामी दिनमा पनि नागरिकको आवश्यकता अनुसार सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै थप सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने योजना अघि बढाएको जनाएको छ ।

शेयर गर्नुहोस :

27
Shares