सरोज भट्टराई
झापा। झापाको शिवसताक्षी नगरपालिका–६ स्थित कनकाई नदीमाथि निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। शिवसताक्षीको चन्द्रडाँगी बजार पूर्व हुँदै लालपानी जोड्ने उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न हुन लागेसँगै स्थानीय बासिन्दाको वर्षौँदेखिको आवतजावत समस्या समाधान हुने अपेक्षा गरिएको छ।
संघीय सरकारको झोलुङ्गे पुल महाशाखा, कुपन्डोलबाट विनियोजित करिब ७ करोड ४१ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको पुलको लम्बाइ ६४० मिटर रहेको निर्माण कम्पनी पशुपति हरि हरि कन्स्ट्रक्सन प्रालिले जनाएको छ। पुल निर्माण सम्पन्न भएपछि चन्द्रडाँगी क्षेत्रबाट सिधै लालपानी जोडिनेछ, जसले स्थानीय बासिन्दाको दैनिक आवतजावतमा ठूलो सहजता ल्याउने विश्वास गरिएको छ।

शिवसताक्षी नगरपालिकाको भौगोलिक अवस्थाले गर्दा कनकाई नदीले नगरका केही वडालाई छुट्ट्याएको छ। कनकाई नदीपारि शिवसताक्षी नगरपालिका वडा नं। १० तथा वडा नं। ७ को केही भू–भाग रहेको छ। हालसम्म ती वडाका बासिन्दाले आफ्नै वडाभित्र आवतजावत गर्न समेत पूर्व–पश्चिम राजमार्गस्थित कनकाई पुल प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो।
स्थानीयका अनुसार वडा नं। ७ का बासिन्दाले आफ्नो वडाको अर्को भाग पुग्न करिब सात किलोमिटर उत्तरतर्फ यात्रा गरेर कनकाई पुल पार गर्नुपर्ने अवस्था थियो। तर झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि यो बाध्यात्मक परिस्थिति अन्त्य हुने भएको छ।
पुल निर्माणसँगै लालपानी, ट्याक्रा लगायत माईपारिका बासिन्दालाई नगरपालिका कार्यालय तथा बजार क्षेत्रसम्म आउन–जान सहज हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ। स्थानीयस्तरमा सामाजिक, आर्थिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्न पनि पुल महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले नगर क्षेत्र हेर्दा सहज देखिए पनि भौगोलिक अवस्था र बीचमा बग्ने ठूलो नदीका कारण विकास तथा आवतजावतमा चुनौती रहेको बताउनुभयो। उहाँका अनुसार ठूलो नदीमाथि पुल निर्माण गर्ने काम नगरपालिकाको बजेटबाट सम्भव नभएकाले संघीय सरकारको सहयोगमा यो योजना कार्यान्वयनमा आएको हो।
नगरप्रमुख थोप्राले पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न होस् भन्ने उद्देश्यले नगरपालिकाले पटक–पटक स्थलगत अनुगमन गर्दै आएको पनि बताउनुभयो।
पुल निर्माण सम्पन्न भएपछि शिवसताक्षी नगरपालिकाका सबै वडाहरू नगर केन्द्रसँग अझै प्रभावकारी रूपमा जोडिने विश्वास गरिएको छ। यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य सेवा र प्रशासनिक पहुँचलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया