बिर्तामोड । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई २०८२ साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
प्रहरी संगठनको विभागीय मूल्यमान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको मूल्याङ्कनका आधारमा डीएसपी लम्साललाई उत्कृष्ट प्रहरी उपाधि प्रदान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा झापा निर्वाचन क्षेत्र नम्बर–५ जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्दै कुनै पनि अप्रिय घटना हुन नदिई निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ ।
त्यसैगरी, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार तथा हिरासतबाट भागेका प्रतिवादीहरुको खोजी गर्ने क्रममा कार्यालय नजिकैको खाली जग्गाको झाडीबाट वाई १३४८७ नम्बरको मार्का–४ राइफल एक थान बरामद गरिएको थियो । सोही अभियानमा विभिन्न स्थानबाट १९ जना प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फागुन महिनामा दमक क्षेत्रमा कुल ३५ वटा मुद्दा दर्ता भएकोमा जेनजी आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई सबै फछ्र्यौट गरिएको छ । साथै आन्दोलनका क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकको भवन, फर्निचर तथा विद्युतीय उपकरणहरू स्थानीय निकाय, संघसंस्था र स्थानीय बासिन्दासँग समन्वय गरी पुनः व्यवस्थापन गर्न उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।
यस्तै ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको तथा चालु तथा पेन्डिङ मुद्दाका मिसिल पुनःनिर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको प्रहरीले जनाएको छ ।
यस अवधिमा विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी पक्राउ गर्न समेत सफल भएको भन्दै डीएसपी लम्सालले आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउने गरी उत्कृष्ट कार्यसम्पादन गरेको निष्कर्षसहित उनलाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।







प्रतिक्रिया