झापा । झापामा यसै साता हावाहुरीबाट तीन जनाको ज्यान गयो । हावाहुरीले मानवीयसँगै धनजनमा क्षति पुुराएको छ । कृषि क्षेत्रमा समेत ठुलो नाक्सानी पुराएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वर्षासहित आएको हावाहुरीले रुख ढाल्दा रुखले किचेर झापाको हल्दिबारीमा एक युवतीको मृत्यु भयो । हावाहुरीले गर्दा रुख ढलेर हल्दिबारी २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी छोरी १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा घरनजिक रहेको आँपको रूख ढलेर किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, हावाहुरीसँगै भएको वर्षाबाट खेतमा जमेको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । यसै हप्ता हल्दिबारी –२ बस्ने ३७ वर्षीय सुनिलराम सोरेनको घरदेखि करिब ५ सय मिटर पूर्व खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी राजमिस्त्री काम गरेर घर फर्किने क्रममा उनी पानी जमेको खेतमा लडेका थिए । त्यस्तै अर्जुनधारा–४ रातेखालस्थित सयपत्री क्रसरछेउमा रहेको पैनीमा डुबेर सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण कटुवाल मृत्यु भएको थियो ।
हावाहुरीले घरमा क्षति पुराएको छ भने मकै, केरा खेती लगायतका बालीनालीमा पनि ठूलो नोक्सानी पुर्याएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
गत बिहीबार रातिबाट मुलुकका विभिन्न भागमा हावाहुरीसँगै वर्षा भइरहेको छ । सोमवार र मंगलवार देशभर विपद्का ७३ वटा घटना भएका छन् । ती घटनामा परि चार जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हावाहुरीबाट २ तथा सर्पको टोकाइ र चट्याङ लागेर १÷१ जनाको ज्यान गएको हो ।
४३ जिल्लामा भएका यी घटनामध्ये हावाहुरीका ४६ र आगलागीका १२ घटना प्रमुख छन् । विपद्का घटनामा परि १४ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार विपद्का घटनाबाट झन्डै २ करोड ४१ लाख रुपैयाँको क्षति हुँदा २७ चौपाया मरेका छन् ।
हावाहुरी क्रमशः पूर्वी नेपालतिर बढिरहेको हुँदा सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आँधी आउने बेला कस्तो पूर्वतयारी गर्ने ?
जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वप्रथम आँधी आइहाल्यो भने के गर्ने, कसरी सुरक्षित स्थलतर्फ जाने भनेर योजना बनाउन आग्रह गरेको छ । यस्तो अवस्थामा पूर्व तयारी गर्न समेत सूझाव दिएको छ । आँधीले उडाउने क्षेत्रबाट भागेर जानुपर्यो भने कुन बाटो जाने भन्ने जानकारी लिने, आँधीका बेला बैंक र एटिएम मेसिन बन्द हुनसक्ने भएकाले खल्तीमा नगद बोक्ने, आफ्नो सवारी साधनमा पर्याप्त इन्धन भर्ने, सरकारी आधिकारीक सूचना र जानकारी लिनका लागि साथमा बेट्रीबाट चल्ने रेडियो बोक्ने, आँधी आउने बेला प्राथमिक उपचार सामग्री, खाना, स्वच्छ पानी, कपडा, टर्चलाइटको जोहो गर्ने, आँधीका कारण भत्कनसक्ने संरचनाको छेउमा नबस्ने वा त्यसलाई पहिला नै हटाउँने, घरका झ्यालहरु लगाउने ।
आँधी आइरहेको अवस्थामा के गर्ने ?
होचो क्षेत्र र बाढीले सजिलै डुबाउने क्षेत्रतर्फ नजाने, अग्लो भवन, अग्ला रुख, बिजुलीका खम्बा र यस्तै जोखिमपूर्ण क्षेत्रतर्फ नजाने, भरसक आँधी प्रभावित क्षेत्रमा रहेको आफ्नो घरबाट भागेर नजिकै तोकिएको सुरक्षित स्थलतर्फ जाने, सुरक्षित स्थलतर्फ जानसक्ने अवस्था छैन भने आँधीको समयमा घरभित्रै बस्ने, बाहिर तीब्र हावाले उडाउने तथा हावाले उडाएर ल्याएको कुनै सामानले लाग्ने जोखिम रहन्छ । आँधी आइरहेको समयमा सवारी चलाइरहनु भएको छ भने सुरक्षित स्थानमा रोकेर बस्ने
आँधीपछि के गर्ने ?
जबसम्म बाहिर जान सुरक्षित छैन, घरभित्रै बस्ने, आसपास कोही समस्यामा परेका, घाइते भएका कोही छन् भने सहयोग गर्ने, आँधीलगत्तै बाढी आउने सम्भावना हुन्छ, त्यसको तयारी गर्ने, बाढी आएको स्थलतर्फ जान जोखिम हुन्छ, नजाने, बाढीको पानीमा विद्युत प्रवाह भइरहेको हुनसक्छ, सावधानी अपनाउने, आँधीपछि खानेपानीको श्रोत प्रदूषित भएको हुनसक्छ, निश्चित गरेर मात्र पानी पिउने आदि ।







प्रतिक्रिया