Banner news

सहिदमार्ग : वर्षायाम अघि नै निर्माण सम्पन्न गर्न व्यवसायीको आग्रह

सहिदमार्ग : वर्षायाम अघि नै निर्माण सम्पन्न गर्न व्यवसायीको आग्रह


मेचीनगर – मेचीनगर नगरपालिका–१० धुलाबारी मोडदेखि बजार क्षेत्र हुँदै मेचीनगर–९ खुट्टीडाँगीस्थित थोप्लेबिरान सामुदायिक वन कार्यालयसम्म निर्माण भइरहेको सहिदमार्ग (मेचीनगरको गौरवको आयोजना) निर्माणमा भएको ढिलाइप्रति उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।

सडक निर्माण लामो समयदेखि रोकिँदा धुलाबारी बजार क्षेत्रका व्यवसायीहरूले ठूलो सास्ती भोग्नुपरेको भन्दै तत्काल काम सुरु नगरे आन्दोलन गर्ने चेतावनी दिएका थिए। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत विरोध बढेपछि सोमबार मेचीनगर नगरपालिकाले उद्योगी व्यवसायीहरूको छाता संगठन मेची उद्योग वाणिज्य संघ मेचीनगरसँग छलफल गरेको हो।

संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) को नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँग नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सडक निर्माण कार्य छिट्टै पुनः सुरु गरिने आश्वासन दिएका छन्। नगरपालिकाले निर्माण व्यवसायीलाई केही रकम भुक्तानी गरी करिब दुई महिनाभित्र सडक निर्माण पूरा गर्ने लक्ष्य रहेको जानकारी दिएको क्षेत्रीले बताए।

यसअघि निर्माण व्यवसायीले नगरपालिकाले समयमै साइड खाली नगरेको तथा कामबापतको रकम भुक्तानी नगरेको भन्दै काम रोकेको थियो। निर्माण कम्पनीले करिब पौने तीन करोड रुपैयाँ बराबरको बिल भुक्तानीका लागि नगरपालिकामा पेश गरेको बताइएको छ।

सडक निर्माण रोकिँदा धुलाबारी बजारको व्यापारसमेत प्रभावित भएको व्यवसायीहरूको गुनासो छ। स्थानीय व्यवसायी राजु पोद्दारले सामाजिक सञ्जालमार्फत सडक निर्माणमा भएको ढिलाइका कारण बजार क्षेत्रको अवस्था खस्किँदै गएको टिप्पणी गरेका छन्।

नगरपालिकाले दिएको आश्वासन सकारात्मक भए पनि काम तोकिएको समयमा पूरा हुनेमा व्यवसायीहरू अझै विश्वस्त हुन सकेका छैनन्। संघका प्रतिनिधिहरूले वर्षायाम सुरु हुनुअघि नै सडक निर्माण सम्पन्न गर्न नगरपालिकासँग आग्रह गरेका छन्।

संघको टोलीमा वरिष्ठ उपाध्यक्ष क्षेत्रीसहित उद्योग उपाध्यक्ष भूमि पौडेल, कार्यसमिति सदस्य श्यामप्रसाद न्यौपाने, व्यवसायी तनुज मारु, सागर राजवंशी र संघका कार्यकारी निर्देशक गोपाल बस्नेतलगायत सहभागी थिए।

विश्व बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालित ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत निर्माण भइरहेको सहिदमार्गको लम्बाइ करिब ५ दशमलव ३ किलोमिटर हुनेछ। १२ मिटर चौडाइको डबल लेन सडकमा ड्रेनसहित कालोपत्रे गरिने योजना रहेको छ। मेचीनगरका धुलाबारी र काँकरभिट्टा क्षेत्रको सहरी विकासमा यो सडक महत्वपूर्ण मानिएको छ।

शेयर गर्नुहोस :

243
Shares