भद्रपुर

झापामा ब्राउन सुगरसहित सात जना पक्राउ

झापामा ब्राउन सुगरसहित सात जना पक्राउ


बिर्तामोड । झापाको भद्रपुर क्षेत्रमा ब्राउन सुगरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो इकाई काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चैत ३ गते राति करिब ९ः३० बजे गोप्य सूचनाका आधारमा भद्रपुर नगरपालिका–६ स्थित श्रवण यादवको घरमा खानतलासी गर्दा किचन कोठामा रहेको किचन र्याकभित्र प्लास्टिकको बाल्टीमा कालो पोको पारी राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको हो । प्लास्टिक बाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भद्रपुर–६ का ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सोही दिन राति करिब १०ः३० बजे भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर बसपार्क क्षेत्रमा पनि प्रहरीले अर्को कारबाही गरेको छ । गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट ब्राउन सुगर प्लास्टिक बाहेक ११ ग्राम २०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

भद्रपुर–५ का ३० वर्षीय सुभम साह, भद्रपुर–४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर–६ का ३५ वर्षीय दुलाल सेख र भद्रपुर–६ का २९ वर्षीय मोहम्मद अमिर बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुलाल सेखको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

162
Shares