बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । शिक्षा समितिको बैठकले गरेको निर्णय अनुसार प्रधानाध्यापकका लागि प्रस्ताव आव्हान गरेको हो ।
बाह्रदशी गाउँपालिकाको प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०८२ को दफा ७ (ग) बमोजिम निवेदन पेश गर्न १५ दिने सूचना नै सार्वजनिक गरिएको छ । १३ वटा विद्यालयको लागि मात्रै सूचना आव्हान गर्न लागेको गाउँपालिकाले अन्तिम समयमा १६ वटा विद्यालयका लागि सूचना जारी गरेको हो ।

यो निर्णयसँगै काम गरिरहेका १६ जना प्रधानाध्यापकलाई गाउँपालिकाले जिम्मेवारीबाट हटाउने भएको छ । योग्यता पुगेकाहरुले प्रतिष्पर्धामा सहभागी हुन पाउने जनाइएको छ । सहभागीहरुले उत्कृष्ट नतिजा ल्याएमा दोहोरिन समेत सक्ने छन् ।
बाह्रदशी गाउँपालिकाले नयाँ प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाउनुको मुख्य ध्येय सामुदायिक विद्यालयहरुको कमजोर नतिजा रहेको बुझिएको छ । हरेक वर्ष सामुदायिक विद्यालयहरुमा नतिजा खस्किदै गएपछि गाउँपालिकाले आक्रामक निर्णय गरेको हो । कक्षा –८, एसईई र कक्षा १२ को नतिजामा कतिपय विद्यालयहरुको नतिजा शून्य छ । वर्षेनी करोडौं लगानी भइरहेका विद्यालयहरुले उत्कृष्ट नतिजा दिन नसकेपछि नयाँ र योग्य प्रधानाध्यापकहरु नियुक्ती गरेर सुधारको अभियान चलाउन खोजिएको हो ।
एकाध विद्यालय बाहेकले सन्तोषजनक नतिजा ल्याउन सकेको छैन, एक शिक्षक भन्छन् – नयाँ प्रधानाध्यापक नियुक्ती गरेर सामुदायिक विद्यालय सुधार योजना अघि बढाइएको हुन सक्छ ।
लामो समयदेखि काम गरिरहेका प्रधानाध्यापकहरुलाई अन्य शिक्षक कर्मचारीहरुले अटेरी गरेका कारण विद्यालयमा पठनपाठन समेत प्रभावित भइरहेको बुझिएको छ ।
गाउँपालिकाले प्रअको प्रस्ताव पेश गर्दा आफुले अध्यापन गरेको विषयको कम्तिमा ४ वटा कक्षाको नतिजा समेत पेश गर्न भनिएको छ । बाह्रदशी गाउँपालिकाको शिक्षा शाखा प्रमखु गितादेवी सुवेदीले पाँच वर्षका लागि खुल्ला प्रतिष्पर्धाबाट प्रधानाध्यापक छनौट गर्न लागिएको बताइन् । उनले पहिलो पटक गाउँपालिकाले कार्यविधि बमोजिम खुल्ला प्रतिष्पर्धाबाट प्रअ नियुक्ति गर्न लागेको जानकारी दिएकी हुन् ।
नेपाल शिक्षक संघ बाह्रदशीका अध्यक्ष जीवन धमलाले मौजुदा शिक्षा नियमावलीसँग बाझिने गरि गाउँपालिकाले निर्णय गरेको बताए । विद्यालयबाटै प्रधानाध्यापक छनौट गर्ने व्यवस्था विपरित गाउँपालिकाले खुल्ला प्रतिष्पर्धाको लागि सूचना आव्हान गरेको उनको भनाई छ । यो निर्णयलाई बेठिक नै हो भन्न सकिन्न, तर हामी छलफल गरेरै अघि बढ्छौं, उनले भने ।
शिक्षक महासंघ बाह्रदशीका अध्यक्ष गुणनिधी लुईटेलले गाउँपालिकाको निर्णय सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । लामो समय एउटै व्यक्ति प्रधानाध्यापक भइरहने कुरालाई समुदायले पनि परिवर्तन खोजिरहेको अवस्थामा गाउँपालिकाको निर्णयलाई सकारात्मक मान्न सकिने उनको धारणा छ । समुदायको समेत चाहनालाई मध्यनजर गरेर गरिएको निर्णयलाई सहयोग गर्न तयार छौं, अध्यक्ष लुईटेलले भने – सामुदायिक विद्यालय सुधार होस् भन्ने चाहनामा सहयोग नै पुग्नेछ । पाँच वर्षका लागि नियुक्ति हुने प्रअ जिम्मेवार हुने उनको तर्क छ । पाँच वर्षपछि पनि निरन्तरता दिन विद्यालयको विकास र शैक्षिक सुधारमा लाग्न मेहनत गर्नुपर्ने देखिन्छ ।







प्रतिक्रिया