दमक । झापाको दमक–१० स्थित दमक एग्रिकल्चर फार्म प्रा.लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि कुखुरा नष्ट गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
सानो बाह्रघरेमा करिब १४ वर्षदेखि सञ्चालनमा रहेको उक्त फार्ममा जिल्ला स्तरीय पाँच वटा र्यापिड रेस्पोन्स टिम परिचालन गरी संक्रमित कुखुरा नष्ट गर्ने काम भइरहेको छ।

फार्ममा करिब २० हजार लेयर्स कुखुरा रहेकोमा हालसम्म ९ हजार कुखुरा मरीसकेको र बाँकी कुखुरा पनि नष्ट गर्ने प्रक्रिया जारी रहेको सञ्चालक देवेन्द्र प्रसाईंले जानकारी दिएका छन्। सबै कुखुरा नष्ट गर्न अझै २–३ दिन लाग्न सक्ने भेटेरिनरी तथा पशु विज्ञ केन्द्र भद्रपुरका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शीतल भट्टराईले बताए।
अध्ययन टोलीको प्रतिवेदनपछि पशु सेवा विभागले चैत ७ गते जारी गरेको निर्देशनअनुसार उक्त फार्मलाई केन्द्रबिन्दु मानी तोकिएको संकटग्रस्त क्षेत्रभित्रका संक्रमित कुखुरा नष्ट गर्ने कार्य सञ्चालन गरिएको हो।
यसैबीच, पशुपन्छी चिकित्सक तथा प्राध्यापक डा. सुबीर सिंहले कुखुरामा देखिएको एच५एन१ (H5N1) भाइरस मानिसमा सर्ने जोखिम न्यून रहेको बताएका छन्। उनका अनुसार कुखुराको मासु राम्रोसँग पकाउँदा ६० डिग्रीदेखि १०० डिग्री सेल्सियस तापक्रममा भाइरस नष्ट हुने भएकाले उपभोक्ताले डराउनु नपर्ने उनको भनाइ छ।







प्रतिक्रिया