मुख्य समाचार

अर्जुनधाराले कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान – २०८२ प्रदान गर्ने

अर्जुनधाराले कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान – २०८२ प्रदान गर्ने


बिर्तामोड । अर्जुनधारा नगरपालिकाले साहित्यकार, मदन पुरस्कार विजेता कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान २०८२ प्रदान गर्ने भएको छ । आगामी चैत २० गते नगरपालिकाको सभाहलमा आयोजना गरिने कार्यक्रममा धराबासीलाई सम्मान गर्न लागिएको नगर उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिइन् ।

अर्जुनधारा नगरपालिकाले हरेक वर्ष दीर्घ साहित्य सेवा सम्मान प्रदान गर्दै आएको छ । १ लाख १ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । अर्जुनधारा नगरवासी समेत रहेका धराबासीलाई भाषा,कला,साहित्य तथा संगीतको क्षेत्रमा साधनारत व्यक्तित्वलाई सम्मान गर्न पाउँदा गौरव अनुभूति भएको उपप्रमुख पराजुलीको भनाई छ ।

यसअघि अर्जुनधारा नगरपालिकाले पाँच जना साहित्यकार, लेखकलाई दीर्घ साहित्य सेवा सम्मान प्रदान गरिसकेको छ । आफ्नै भूगोलमा बसेर भाषा, कला, साहित्यमा योगदान गर्नेहरुलाई नगरपालिकाले सम्मान गर्दै आएको छ ।

दीर्घ साहित्य सेवा सम्मान हालसम्म सरोज ओली, विष्णुकुमार भट्टराई, हस्त परियार, कालिबहादुर थापा र कृष्ण बराललाई प्रदान गरिएको छ । ५१ हजारबाट सुरु भएको सम्मान राशीलाई गत वर्षबाट १ लाख १ हजार पुराइएको हो ।

धराबासीलाई चैत १२ गते रमा–कष्ण सृजना प्रतिष्ठान काठमाडौंले भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान गर्दैछ ।

शेयर गर्नुहोस :

108
Shares