Banner news

बिर्तामोडको इलाका र ट्राफिक पुनर्निर्माण गर्नेलाई कवोल रकम नउठ्दा समस्या

बिर्तामोडको इलाका र ट्राफिक पुनर्निर्माण गर्नेलाई कवोल रकम नउठ्दा समस्या


बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको पुर्ननिर्माण तथा मर्मत गर्ने नेतृत्वहरुलाई कवोल गरेको सहयोग रकम नजुट्दा समस्या भएको बताएका छन् । आज बिहान उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा नेतृत्वकर्ताहरुले कवोल भएको सहयोग रकम उठान कठिन भइरहेको बताए ।

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय आगजनीबाट ध्वस्त भएको थियो । स्थानीयस्तरबाट सहयोग संकलन गरेर दुवै कार्यालयहरु पुर्ननिर्माण तथा निर्माण सम्पन्न गरिएको छ ।

शान्ति सुरक्षाका लागि कार्यालय व्यवस्थापनमा अगुवाई गरेर निर्माण सम्पन्न गरिए पनि बाँकी बक्यौता तिर्न नसक्दा समस्या भइरहेको एक अगुवा विपिन बजगाईले जानकारी दिए । उनले छलफलका क्रममा करिव २३ लाख रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको बताए । कवोल भएको रकम १० लाख उठाउन बाँकी छ, उनले भने – १० लाख उठाउन नै समस्या भइरहेको छ , अपुग रकम कसरी उठाउने भन्नेमा चिन्तित छौं । सबैको साथ सहयोगबाट इलाका र ट्राफिक कार्यालय निर्माण गरिएको उनको भनाई छ । बिर्तामोडका अगुवा, सामाजिक व्यक्तित्वहरु, संघ संगठनहरुकै सहयोगमा रकम संकलन गरेर काम गरिएको बजगाईको भनाई छ । उनले जिन्सी र नगद सहयोगबाट काम गरिएको जानकारी दिए । काम गर्ने सिलसिलामा आएका सामानहरुको पैसा बुझाउन नसक्दा अप्ठ्यारो भइरहेको बताएका छन् ।

उनले भने, एक जना व्यवसायीले निशुल्क प्लाई पठाए जस्तो लागेको थियो । पछि १३ हजारको बिल पठाउनु भएछ, उनले थपे – १३ हजारकै ताकेताले हैरान छ । सबै पैसा उठाएर सबैको तिरोभरो गर्न पाए हुन्थ्यो । साना साना विलकै हैरान छ ।

अर्का नेतृत्वकर्ता पदम श्रेष्ठले बाँकी बक्यौता तिरोधरो गर्न सबैको साथ सहयोग जरुरी रहेको बताए । उनले चुनावका कारण बिचमा सहयोग संकलनको काम गर्न नसकेको बताउँदै उनले अब तत्कालै कवोल रकम उठाउने र बाँकी बुझाउन रकम बुझाउने बताए । जजसको आशा र भरोसामा रहेर काम गरेका थियौं, पक्कै कवोल गरेको रकम छिट्टै बुझाएर सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ, श्रेष्ठले भने ।

छलफलमा सहभागी सामाजिक व्यक्तित्वहरुले तत्काल बाँकी बक्यौता रकम संकलन गरेर तिरोभरो गर्न सूझाव दिएका छन् । तिरोभरो गर्दै हालसम्मको हरहिसाव सार्वजनिक गर्न समेत आग्रह गरेका छन् । सामाजिक काममा विभिन्न प्रश्नहरु उठ्ने भएकाले हिसाव सार्वजनिक गरेर अघि बढ्न सूझाव दिएका हुन् ।

उक्त छलफलका क्रममा बिर्तामोड वाणिज्य संघले ५ लाख सहयोग गर्ने विषय उठेको थियो । संघका एक पदाधिकारीले वाणिज्य संघमा पैसा नरहेको बताएपछि उक्त कवोल रकम उठ्नेमा शंका गरिएको छ । सोही विषयमा संघका सम्बन्धित व्यक्तिहरुले संघकै खातामा नरहे पनि आफूले सहयोग रकम जुटाउन सहयोग गर्ने बताएका थिए ।

छलफलमा अर्का अगुवा दिपेन चौधरी, सामाजिक व्यक्तित्वहरु मदनगोपाल सुब्बा, सुवास भट्टराई, निर्मल भट्टराई, सजेश शिवाकोटी, कुशल न्यौपाले, निर्मल खत्री, नविन गट्टानी, राजु घिमिरे लगायतको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

3k
Shares