Banner news

एमाले कोशीले भन्यो – सरकारविरुद्ध आन्दोलनमा उत्रन तयार रहनु

एमाले कोशीले भन्यो – सरकारविरुद्ध आन्दोलनमा उत्रन तयार रहनु


विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति घोर भत्र्सना गर्दै आन्दोलनको घोषणा गरेको छ । प्रदेश कमिटीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई ‘लोकतान्त्रिक शक्तिहरूमाथिको नाङ्गो प्रहार’ को संज्ञा दिएको हो ।

प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘२०८२ फागुन २१ को निर्वाचनबाट बनेको अराजनीतिक दलको सरकारले कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको बहानामा अध्यक्ष ओलीलाई पक्राउ गरी मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने काम गरेको छ ।’

एमालेले उक्त आयोगलाई असंवैधानिक, पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको दाबी गर्दै यसअघि भाद्र २३ गते भएको ‘जेनजी’ युवाहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकारले नियोजित रूपमा दुरुपयोग गरी सत्ता कब्जा गरेको आरोप समेत लगाएको छ ।

विज्ञप्तिमा अध्यक्ष ओली लगायत अन्य पक्राउ परेका नेताहरूलाई बिनाशर्त तत्काल रिहा गर्न माग गरिएको छ । सरकारले चालेको यो कदम सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमाथिको दमन भएको एमालेको ठहर छ ।

सरकारको पछिल्लो रवैयाबाट विचलित नहुन आग्रह गर्दै कोशी प्रदेश कमिटीले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता र समर्थकहरूलाई सरकारको ‘नाङ्गो प्रहार’ विरुद्ध आन्दोलन र संघर्षमा उत्रन तयारी अवस्थामा रहन आह्वान गरेको छ ।

शेयर गर्नुहोस :

324
Shares