मुख्य समाचार

देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ : कांग्रेस

देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ : कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको प्रतिक्रिया दिएको जनाएको छ ।

कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठाए । उनले भने, ‘कार्की आयोगको प्रतिवेदन अपूर्ण छ । त्यसमा पनि भदौ २३ र २४ गतेको घटनामा सरकारको व्यवहार चयनात्मक भयो । सरकारको यस्तो व्यवहार गलत छ । यसरी कानूनका प्रक्रिया समेत पालना नहुनाले न्याय पाउने प्रक्रियालाई नै गिजोल्ने देखिन्छ ।’

भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष ढंगले टुङ्ग्याउनु भन्दा पनि सरकारले थप राजनीति गर्न खोजेको देखिएको बताए । उनले दुवै दिनको घटनामा संलग्नलाई उत्तेजनामा नभई कानूनबमोजिम कारबाही हुनुपर्ने बताए ।
उनले छानबिन आयोगको प्रतिवेदन २४ गतेको घटनामा प्रवेश नै नगरेको बताए । उनले कांग्रेसले विधिको शासन स्वीकार्ने तर पूर्वाग्रहपूर्ण व्यवहार नस्वीकार्ने बताए ।

उनले भने, ‘हामी फेरी पनि प्रष्ट गर्न चाहान्छौं भदौ २३ गतेको घटनामा संलग्न संगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ । दुवै दिनको घटनामा संलग्न जो सुकै भएपनि कारवाही हुनुपर्छ । त्यसमा हाम्रो साथ रहन्छ । तर त्यो कारवाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ । यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानूनको शासन कमजोर हुनसक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ । अतः यसतर्फ गम्भीर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।’

शेयर गर्नुहोस :

189
Shares