झापा । आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि कोशी प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ । २०८२ सालको परीक्षालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन शिक्षा विकास निर्देशनालयले व्यापक प्रबन्ध मिलाएको छ ।
परीक्षार्थी र जनशक्ति परिचालनको तथ्यांक अनुसार कोशी प्रदेशका ३३२ परीक्षा केन्द्रमार्फत कुल ८० हजार ९ सय १० जना परीक्षार्थीहरू सहभागी हुँदैछन् । परीक्षा सम्पन्न गर्न ठुलो संख्यामा जनशक्ति परिचालन गरिने जनाइएको छ ।
परीक्षाका लागि केन्द्राध्यक्ष ३,०३२, सहायक केन्द्राध्यक्ष ५४६, निरीक्षक ४,०६३ , सहायक परीक्षक ८१३, सहयोगी कर्मचारी १,६१५, सुरक्षाकर्मी ४,९८० परिचालन गरिने बताइएको छ ।
शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकता दिँदै परीक्षा केन्द्रहरूमा नर्सको व्यवस्था गरिनेछ । नर्स उपलब्ध नभएका स्थानमा नजिकका स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ । साथै, टाढाबाट आउने विद्यार्थीका लागि स्थानीय तहमार्फत आवासको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । परीक्षाका नियम र सुरक्षा व्यवस्थापरीक्षालाई पारदर्शी बनाउन निर्देशनालयले नियमहरू कडाइका साथ लागू गर्ने भएको छ ।
विद्यार्थी अनिवार्य विद्यालय पोशाकमा उपस्थित हुनुपर्नेछ भने खुला समूहका परीक्षार्थीले फोटोसहितको परिचयपत्र ल्याउनुपर्नेछ । परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट वाच लगायतका इलेक्ट्रोनिक उपकरण लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ । सीसीटीभी जडान भएका विद्यालयलाई प्राथमिकता दिइएको छ, जसबाट केन्द्रको प्रत्यक्ष अनुगमन गरिनेछ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित निकायको नेतृत्वमा नियमित अनुगमन टोली खटिनेछ । मनोवैज्ञानिक परामर्श र प्राथमिक उपचारविद्यार्थीहरूको मानसिक तनाव कम गर्न आवश्यक स्थानमा मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा उपलब्ध गराइनेछ ।
परीक्षा केन्द्रहरूमा प्राथमिक उपचार सामग्री र उचित शौचालयको व्यवस्थापनमा समेत ध्यान दिइएको छ । निर्देशक पोखरेलले परीक्षालाई शान्त र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला निकाय, अभिभावक र विद्यार्थीहरूलाई सहयोगका लागि अपिल गर्नुभएको छ ।







प्रतिक्रिया