Banner news

भद्रपुरमा ह्याकरको विगविगी, लुटियो ६ लाख रुपैयाँ

भद्रपुरमा ह्याकरको विगविगी, लुटियो ६ लाख रुपैयाँ


गोपाल काफ्ले

झापा । ईसेवामा कारोबार गर्नुभएको तपाईंलाई तीन हजार रुपैयाँको पुरस्कार परेको छ भनी बैंकिङ विवरण र पासवर्डसमेत लिएर सोमवार राति पनि ह्याकरले भद्रपुर १० की आशा ढकालको ६ लाख रुपैयाँ लुटेका छन् ।

चैत १२ गते अपरान्ह ४ः३५ बजे भद्रपुर १० बस्ने अधिवक्ता पवन कार्कीको पनि ७–८ वटा बैंक तथा वित्तीय संस्थामा रहेक सबै एकाउन्ट ह्याक गरी ३० सेकेण्डमा खल्ती एपमा रकम डाइभर्ट गरिदिएको थियो ।

कृषि विकास बैंक भद्रपुर शाखामा रहेको आशा ढकालको ओडी खाताको रकम ५० हजारका दरले तीन पटक ईसेवामार्फत् खल्ती एपमा डाइभर्ट गरेर र ५० हजारका दरले ९ पटक फण्ड ट्रान्सफर गरेर लुटिएको हो ।

कृषि विकास बैंककै निवृत्त कर्मचारीसमेत रहेका आशाका आफन्त अम्बिका ढकालले दिएको जानकारी अनुसार सोमवार राति १२ बज्न केही मिनेट अघि ६ वटा कारोबार गरी तीन लाख रुपैयाँ र १२ बजेको केही मिनेट पछि फेरि ६ वटा कारोबारबाट तीन लाख रुपैयाँ खाताबाट घटेको देखिन्छ ।

अधिवक्ता पवन कार्कीको एकाउन्ट ह्याक गरी पैसा ट्रान्सफर गर्न प्रयोग भएको ईसेवा र खल्ती एपको मोवाइल नम्बर तथा फण्ड ट्रान्सफर गरेको विवरण मिल्दो रहेकाले परिचित गिरोह नै डिजिटल लुटमा संलग्न रहेको ढकालको अनुमान छ ।

घटना भएको थाहा पाउने वित्तिकै राति नै बैंकका कर्मचारीलाई खबर गरिएको भए पनि तत्कालै सहजीकरण गर्न असमर्थ रहेकाले उक्त रकम ह्याकरले फण्ड ट्रान्सफर गर्न भ्याएको पीडितको बुझाई छ ।

मंगलवार बिहानै पीडितको परिवारले जिल्ला प्रहरी कार्यालय झापामा गएर प्रक्रिया पूरा गरी निवेदन दिएको जनाइएको छ । प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले पनि उजुरी परेपछि कुन खातामा फण्ड ट्रान्सफर भएको हो भनी विवरणहरु संकलन गर्ने कार्य भइरहेको बताए ।

दिनहुँ बैंकका बचतकर्ताको रकम ह्याकरले यसरी नै लुटिरहने हो भने डिजिटल कारोबारको भविष्य अन्यौलमा पर्न जाने प्रष्ट छ । बचतकर्ताले पनि सानो प्रलोभनमा फस्दा ठूलो क्षति हुने रहेछ भन्ने हेक्का राख्न आवश्यक छ भने प्रविधिको माध्यमबाट भइरहेको चोरीबाट आफ्ना ग्राहकलाई जोगाउन सुरक्षाको चुस्त प्रबन्ध मिलाउन बैंकिङ क्षेत्रले पनि ढिलाई गर्न हुँदैन ।

 

शेयर गर्नुहोस :

459
Shares