मुख्य समाचार

वैदेशिक रोजगार अभिमुखीकरणमा ७ सयभन्दा बढी असुले लाइसेन्स खारेज हुने

वैदेशिक रोजगार अभिमुखीकरणमा ७ सयभन्दा बढी असुले लाइसेन्स खारेज हुने


बिर्तामोड । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य लिनुपर्ने पूर्व–प्रस्थान अभिमुखीकरण (ओरियन्टेसन) तालिममा नामुद ठगी भइरहेको फेला परेको छ । सरकारले प्रति–प्रशिक्षार्थी ७ सय रुपैयाँ शुल्क तोके पनि तालिम प्रदायक संस्थाहरूले तीन गुणा बढी अर्थात् २ हजार १ सय रुपैयाँसम्म असुलिरहेको गुनासो बढेपछि वैदेशिक रोजगार विभागले कडा चेतावनी दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै विभागले अभिमुखीकरण तालिमको शुल्क नबढेको र साविककै ७ सय रुपैयाँ कायम रहेको प्रष्ट पारेको हो । ‘केही तालिम प्रदायक संस्थाले निर्धारित शुल्कभन्दा बढी रकम लिएको गुनासो आएको छ, ७ सय रुपैयाँभन्दा बढी लिनु सरासर गैरकानुनी हो,’ विभागले भनेको छ ।

विभागले २०८१ असोज १३ गते नै प्रेस विज्ञप्तिमार्फत शुल्कबारे प्रष्ट पारिसकेको स्मरण गराउँदै तोकिएको भन्दा बढी रकम लिने संस्थाको इजाजत पत्र (लाइसेन्स) स्वतः रद्द गरिने चेतावनी दिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीको बर्खिलाप गर्ने कुनै पनि संस्थालाई उन्मुक्ति नदिइने विभागको जिकिर छ ।

अनिवार्य रूपमा दुई दिन सञ्चालन हुनुपर्ने यो तालिमका लागि श्रमिकले ७ सय रुपैयाँ मात्र तिरे पुग्छ । बजारमा व्यवसायीहरूले मिलेमतोमा २१ सय रुपैयाँ उठाउने गरेको र श्रमिकहरू ठगिने गरेको उजुरी विभागमा चाङ लागेको छ । विभागले अबदेखि ७ सयभन्दा बढी शुल्क मागेमा तत्काल प्रमाणसहित उजुरी गर्न श्रमिकहरूलाई अनुरोध गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ तथा कार्यविधिअनुसार तालिमका सबै मापदण्ड लागू हुनुपर्ने भए पनि कतिपय संस्थाले तालिम नै नदिई प्रमाणपत्र मात्रै बेच्ने र चर्को शुल्क लिने गरेको आरोप लाग्दै आएको छ । विभागले सबै मान्यता प्राप्त संस्थालाई तोकिएको शुल्क मात्र लिन र कार्यविधि पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । कार्यविधि मिच्ने र श्रमिकको पसिनामाथि रजाइँ गर्ने संस्थाहरू अब विभागको ’राडार’ मा परेका छन् ।

शेयर गर्नुहोस :

81
Shares