Banner news

झापामा सबैभन्दा बढी दुर्घटना शुक्रबार

झापामा सबैभन्दा बढी दुर्घटना शुक्रबार


लक्ष्मी उप्रेती

मेचीनगर । झापामा अन्य दिनको तुलनामा हरेक साताको शुक्रबार सवैभन्दा बढी सवारी साधन दुर्घटना हुने गरेको एउटा अभिलेखले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गरेको छ ।

कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष राईका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को फागुन महिनाको अन्त्यसम्म जिल्लामा कुल सवारी दुर्घटनाको संख्या आठ सय ८२ वटा छ । त्यसमध्ये सवैभन्दा बढी शुक्रबार एक सय ५१ वटा सवारी दुर्घटना भएको छ । सवैभन्दा कम आइतबार र बुधबार समान एक सय १०-एक सय १० वटा सवारी दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यसैगरी, सोमबार एक सय २७, मंगलबार एक सय ३९, बिहीबार एक सय १६ र शनिवार एक सय २९ वटा सवारी दुर्घटना भएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।

८८२ वटा सवारी दुर्घटनामा एक हजार दुई सय ५६ वटा सवारी साधन संलग्न रहेको कार्यालयको भनाई छ । दुर्घटनामा परेर जिल्लामा आठ महिनामा ५० जनाको ज्यान गएको छ भने, एक हजार पाँच सय ४८ जना घाइते भएका छन् । कुल घाइतेमध्ये ८२ जना गम्भीर अवस्था र एक हजार चार सय ६६ जना साधारण अवस्थाका घाइते छन् ।

भोली पल्ट शनिवार पर्ने भएकाले धेरैले ‘ह्याप्पी फ्राई डे’ मनाउँने गरेका कारण अन्य बारको तुलनामा शुक्रबार बढी दुर्घटना हुने गरेको आशंका प्रहरीको छ । ‘ठयाक्कै कारण त यहि भन्ने अवस्था छैन्’ एकजना प्रहरी अधिकारीले भने, ‘शुक्रबार ‘हाफ छुट्टी ’हुने र भोली पल्ट शनिबार परेकाले पनि ‘हाफ छुट्टी ’ मनाउँन त भन्ने चलनले यस्तो अवस्था आएको हुन सक्छ ।’

इलाका अनुसार सवैभन्दा बढी छ सय ६३ वटा सवारी दुर्घटना शहरी क्षेत्रमा भएका छन् । त्यसैगरी ग्रामीण क्षेत्रमा २९ र राजमार्गमा एक सय ९० वटा दुघर्टना भएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राईले जानकारी दिए । उनका अनुसार आठ सय ५५ वटा सवारी दुर्घटना पक्की सडकमै भएका छन् । ग्राभेलमा पाँच वटा र कच्ची सडकमा २२ वटा सवारी दुर्घटना भएका छन् ।

तीब्रगति सवारी साधन दुर्घटनाको मुख्य : कारण बनेको छ । आठ महिनामा जिल्लामा भएका कुल आठ सय ८२ वटा सवारी साधन दुर्घटनामध्ये पाँच सय १४ वटा तीब्रगतिका कारण दुर्घटा भएको प्रहरीसँग अभिलेख छ ।

यसैगरी, चालकको लापरवाहीका कारण एक सय ८१, यात्रुको गल्तीका कारण ४२, ओभरटेकका कारण सात, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका कारण एक सय तीन, यान्त्रिक गडबडीका कारण चार, लोभर लोडका कारण दुई, चौपायाका कारण एउटा र सडकका कारण २८ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।

यो अवधिमा कार्यालयले जिल्लाका अलग अलग स्थानमा छड्के चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार एक सय ३७ जना चालकलाई कारवाही गरेको छ । यसैगरी, स्वरुप परिवर्तन गरी दुई पाङ्ग्रे सवारी साधन चलाउने एक सय दुईजना तथा ठूलो आवाजको प्रेसर हर्न नौ सय ५० वटा निकालिएको बताइएको छ ।

विद्यार्थीहरुमा ४२ पटक जनचेतना कार्यक्रम ४२ पटक गर्दा तीन हजार दुई सय तीन जना लाभान्वित भएका छन् । ट्राफिक सचेतना तथा सडक प्रयोग सम्बन्धि अभिमुखीकरण एक हजार दुई सय ५४ पटक गरिएको र त्यसबाट ३५ हजार नौ सय ६२ जनाले लाभ लिइएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राईले जानकारी दिए ।

शेयर गर्नुहोस :

54
Shares