बिर्तामोड । लगातार बर्डफ्लु फैलिएको समाचारले उपभोक्ताहरुलाई कुखुराको मासु खान हुने नहुने भन्ने दोधारमा बनाएको छ । बर्डफ्लु संक्रमण हुन सक्ने आशंकाका बीच उपभोक्ताहरुले कुखुराको मासु खाइरहेका छन् ।
पछिल्लो समय बर्डफ्लु संक्रमण फैलिएपछि मासु उपभोगमा उपभोक्ताहरु डराएका हुन् । बर्डफ्लु फैलिरहेको बेला मासु खान नहुने हल्लाले उपभोक्ताहरुमा अन्यौल भएको हो ।
भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्र झापाका पशु चिकित्सक डा.विर्खराज राईले जिल्लाका विभिन्न पालिकामा कुखुरा जाँच गर्दा बर्डफ्लु पुष्टि भएको बताए । दुई साताअघि दमकमा पुष्टि भएको थियो । दमकका दुई वटा फर्ममा कुखुरा नष्ट गरिसकिएको छ । उनका अनुसार चारोसहित अन्य सामग्रीहरु नष्ट गरेर शिल गरिने छ । डा. राईले बिर्तामोड, झापा गाउँपालिका क्षेत्रमा समेत बर्डफ्लु पुष्टि भएको जनाए । उनले बर्डफ्लु फैलिए पनि मासु नै खान नहुने भन्नु गलत रहेको प्रतिक्रिया दिए । बर्डफ्लुको बेला कुखुराको मासु खाएर ज्यान गएको घटना नसुनेको बताएका छन् । उनले थपे, यस्तो समयमा धेरै सावधानी अपनाउनुपर्छ ।

संक्रमण फैलिन नदिन जिल्लास्थित समितिले दमकबाट कुखुरा आयात निर्यातमा रोक लगाएको थियो भने सीमा क्षेत्रमा कडाई गरेको थियो । दमकपछि मोरङ, सुनसरी र अन्य जिल्लाहरुमा समेत बर्डफ्लु देखिएपछि मासु खान हुन्छ कि हुदैन भन्ने व्यापक चर्चा समेत भइरहेको छ ।
उपभोक्ता मात्र होइन कुखुरापालक किसान पनि कुखुरा बिक्दैन, व्यवसाय डुब्छ भन्नेमा चिन्तित भएका छन् ।
सामान्यतया चल्ला ४५ दिनको भएपछि कुखुरा मासुका लागि तयार हुन्छ । तर बर्डफ्लु भित्रिएसँगै कतिपय किसान समयअगावै कुखुरा बिक्री गर्ने योजना बनाइरहेका छन् ।
बर्डफ्लुको चर्चा भइरहेको बेलामा बर्डफ्लु नलागेका स्वस्थ कुखुराको मासु खान डराउन नपर्ने जानकारहरु बताउँछन् । बिर्तामोडस्थित पशु तथा मत्स्य विकास शाखाका पशु विकाश अधिकृत डा. नगेन्द्र खड्काले बर्डफ्लु भित्रियो भन्दैमा कुखुराको मासु नै खान नहुने भन्ने धारणा गलत रहेको बताए । उनका अनुसार सुरक्षित तरिकाले पकाएर खान सकिन्छ , मासु सफा र स्वस्थ्य हुनुपर्छ ।’
डा. खड्काले मासु खरिद गर्दा फ्रेस हाउसको सरसफाई, कुखुरामा संक्रमण भए नभएको बुझेर खरिद गर्नुपर्छ । आफ्नै आँखा अगाडि बनाएको कुखुरा हेरेर खरिद गर्न सकिन्छ, उनले भने – झोक्राएको, विरामी संक्रमित कुखुराको मासु खान हुदैन ।
कसरी पकाउने ?
‘बर्डफ्लु भाइरस ७० डिग्री सेल्सियस तापक्रममा मर्छ । हामीले १०० डिग्री सेल्सियसमा पकाउँदा यदि भाइरस छ भने पनि खतरा हुँदैन,’ विज्ञहरु भन्छन् ‘पोलेको मासु खानुपरे समय लगाएर भित्रैसम्म पकाउनुपर्छ । बाहिर पाकेजस्तो देखिए पनि पोल्दा काँचो रहने सम्भावना हुन्छ । नपाकेको जस्तो लागे खानु हुँदैन । अण्डा खाँदा पनि काँचो नखानुहोला । उसिनेर वा पूर्ण रूपमा पकाएर खानुपर्छ, विज्ञको सूझाव छ ।
फार्ममा काम गर्ने व्यक्ति, ढुवानीकर्ता र मासु काट्ने मान्छे भने सबभन्दा जोखिममा रहेको बताइन्छ । सुरक्षित रूपमा मास्क, पञ्जा र एप्रोन लगाएर काम गर्नुपर्ने साथै बजारबाट मासु किनेर पकाउने व्यक्तिले अनिवार्य साबुन पानीले हात धुनुपर्छ ।
बर्डफ्लु मानिसमा संक्रमण हुने सम्भावना कम हुन्छ । तर संक्रमण गरिहाल्यो भने मान्छेको मृत्यु नै हुने सम्भावना हुन्छ,’ एक चिकित्सक भन्छन्, चिसोमा बर्डफ्लु भाइरस छिटो सर्ने भएकाले उच्च शतर्कता अपनाउनु पर्छ ।’
यो भाइरस विशेषगरी कुखुराको ¥याल र सुलीबाट सर्ने विज्ञहरू बताउँछन् । कसैको फार्ममा कुखुरा बिरामी परे भने तुरून्तै स्थानीय तहमा जानकारी गराउन पशु सेवा विभागले अनुरोध गरेको छ ।
बर्डफ्लु इन्फ्लुएन्जा ए नाम गरेको एक प्रकारको विषाणुको माध्यमबाट पंक्षीमा लाग्ने रोग हो । यसबाट विशेष गरी कुखुरा, बट्टाइ, टर्की जस्ता पंक्षी बढी प्रभावित हुन्छन् ।
हाँस, जंगली चराहरू रोगको लक्षण नदेखाइ पनि रोगवाहकका रूपमा देखा पर्न सक्छन् । चराहरूमा यो रोग सर्वप्रथम सन् १८७८ मा पहिचान भएको थियो ।
सामान्यतया धेरै कुखुरा एकैपटक मरेमा, श्वासप्रश्वास सम्बन्धी कुनै समस्या देखिएमा, कुखुराको टाउको र घाँटीका भाग केही निलो देखिएमा र अण्डा उत्पादन एकैपटक घटेमा बर्डफ्लु शंका गर्न सकिन्छ ।
सुनसरीमा १९ हजारभन्दा धेरै नष्ट
सुनसरीमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले १४ वटा फार्मबाट १९ हजारभन्दा धेरै कुखुरा नष्ट गरेको छ ।
इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका १६ ठाउँका ब्रोइलर कुखुरा, स्थानीय जातका कुखुरा र हाँसमा समेत सङ्क्रमण पुष्टि भएको केन्द्रका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिनुभयो ।
चैत महिनामा देशका थुप्रै जिल्लामा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । झापामा बर्डफ्लु पुष्टि भएपछि दमक र झापा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । मोरङको सुनवर्षी र उर्लाबारीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा बर्डफ्लु देखिएपछि झन्डै १९ हजार कुखुरा र ५५ हजारभन्दा धेरै अण्डा नष्ट गरिएको छ । यसरी एकसाथ धेरैतिर सङ्क्रमण फैलनु चिन्ताको विषय रहेको विज्ञहरू बताउँछन् । जोखिम बढेपछि प्रभावित जिल्लाहरूमा पक्षी तथा पक्षीजन्य पदार्थको ढुवानीमा रोक लगाइएको छ । बर्डफ्लु कुखुरा, हाँसलगायतका पक्षीमा तीव्र गतिमा फैलिने सङ्क्रामक रोग हो ।
यो मानिसमा समेत सर्न सक्ने भएकाले विश्व स्वास्थ्य सङ्गठन (विश्व स्वास्थ्य सङ्गठन) ले यसलाई अत्यन्त गम्भीर रोगका रूपमा लिएको छ । कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित भेटेरिनरी निकायमा खबर गर्न सरकारले अनुरोध गरेको छ ।







प्रतिक्रिया