Banner news

संविधान निर्माण गरेका शक्तिहरू एकताबद्ध हुनुपर्नेमा ‘प्रचण्ड’को जोड

संविधान निर्माण गरेका शक्तिहरू एकताबद्ध हुनुपर्नेमा ‘प्रचण्ड’को जोड


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्तिहरू राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले मुलुकमा जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय अखण्डताको रक्षा, क्रान्तिका उपलब्धिको संरक्षणका लागि ती शक्तिबीच सहकार्यको आवश्यकता औँल्याएका हुन् ।

पूर्वप्रधानमन्त्री दाहालले बाह्रबुँदेदेखि विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरू तथा परिवर्तनकामी शक्तिलाई एकताबद्ध बनाउन आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने प्रस्ट पारेका छन् ।

निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताउँदै उहाँले जनताको जनादेशको सम्मान र परिणाम स्वीकार गरेर सरकारका राम्रा कामको समर्थन एवम् गलत कामको विरोध गर्ने तथा संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

पार्टी सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन परिणामबाट नेता तथा कार्यकर्ता विचलित र निराश नहुन आग्रह गर्दै नयाँ परिस्थितिमा नयाँ ढंगले उच्च मनोबल र उत्साह साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले अब पार्टीमा शुद्धीकरण, समग्र पुनर्गठन र पुनर्जागरण अनिवार्य भएको बताएका छन्।

शेयर गर्नुहोस :

81
Shares