विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवद्र्धनको लागि उदय परियोजना मार्फत विभिन्न बैंकबाट करिब ८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने तयारी गरेको छ । स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा उदय परियोजना मार्फत नयाँ साना तथा मझौला उद्यम गर्न चाहनेलाई लगानी गर्न लागिएको हो ।

यो लगानीका लागि ग्लोबल आइएमइ बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग बिहीवार इटहरीमा सम्झौता गरिएको छ । प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषमा आबद्ध हुनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष र साझेदार बैंकहरु बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापछि स्विस सरकारले ३० करोड र प्रदेश सरकारले ३० करोड गरेर ६० करोडको ग्यारेन्टी फण्ड राखिनेछ ।
त्यस्तै १४ करोड प्रदेश र १४ करोड स्विस सरकारको सहयोगमा च्यालेन्जिङ फण्ड पनि राखिने छ । यो योजना लागु भएपछि कुनै पनि नयाँ उद्यम गर्न चाहने व्यक्तिले यी बैंकबाट ३० लाखदेखि ३ करोड सम्म ऋण पाउनेछन् । यो प्रक्रियाबाट जाने ऋणमा बैंकले आवश्यक ठानेमा धितो नलिकन पनि ऋण प्रवाह गर्नेछ। यो कार्यक्रमको मुख्य उद्देश्य नै यही रहेको कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
कतिपय अवस्थामा यो परियोजना मार्फत आएका व्यक्तिले यदि आफ्नो धितो बैंकले चाहेको भन्दा थोरै मात्रै पु¥यायो तर उसको परियोजना राम्रो लाग्यो भने सरकारको सरकारको ग्यारेन्टीमा लगानी गर्न सक्ने समेत यसको मुख्य विशेषता रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख रमेश घिमिरेले जानकारी दिनुभयो ।
यो परियोजना मार्फत आउने उद्यमीलाई परियोजनाका लागि आवश्यक सहजीकरण र ऋण लिनका लागि परियोजनाले सहयोग गर्नेछ । यो परियोजना अन्तर्गत करिब ८ अरब रुपैयाँ कोशी प्रदेशको साना तथा मझौला उद्योग स्थापनाका लागि ऋण प्रवाह हुने र यसले कोशी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास सरकारले गरेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री राष्ट्रिय पुँजीको विकास गर्दै यसले यसले देशको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । कोशी प्रदेश सरकारको अथक मेहनत र प्रयासपछि सुरु हुन लागेको यो परियोजनाबाट लाभ लिन नव युवाहरूलाई मुख्यमन्त्री कार्कीले आग्रह समेत गर्नुभयो । पालिका र वडामा नयाँ नयाँ रिसर्च गरेर त्यसको सम्भाव्यता अध्ययन गरी नयाँ क्षेत्रमा लगानी गर्ने उद्यमीलाई पनि यो परियोजनाले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बिदुर कुमार लिङ्गथेपले यसबाट कोशी प्रदेशको आर्थिक समृद्धि र विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सिईओ देवेन्द्र रमण खनाल र ग्लोबल आइएम ई बैंक सीईओ शैलेन्द्र रेग्मीले बोल्नुभएको थियो ।







प्रतिक्रिया