बिर्तामोड । झापाली सहकारीकर्मीलाई उत्प्रेरणात्मक कार्यक्रममा सहभागी गराउँदै ६९ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सो अवसरमा उत्कृष्ट सहकारी, व्यवस्थापक र पत्रकारलाई सम्मान गरिएको छ ।
आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उत्प्रेरक सौनभ भट्टले जिल्लाका ८ सय बढि सहकारीकर्मीहरुलाई उत्प्रेरणा प्रदान गरेका हुन् ।

उत्प्रेरक भट्टले नेतृत्वशैली, चुनौतिपूर्ण कामहरुको अगुवाई, प्रयास, नयाँ कामको थालनी, हिम्मत, समय, सहकार्य, आफूलाई कसरी बदल्ने लगायतका विषयहरुमा सहजीकरण गरेका थिए । २ घण्टा सहजीकरण गरेका भट्टले सहभागीहरुलाई विभिन्न अभ्यास समेत गराएका थिए । उनको सहजीकरणपछि सहभागीहरुले एक कदम अगाडि भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोही कार्यक्रममा आयोजक झापा जिल्ला सहकारी संघले उत्कृष्ट बचत तथा ऋण तर्फ दमकको डाँफे बचत तथा ऋण सहकारी संस्था लि. लाई पुरस्कृत गरेको छ । यस्तै, उत्कृष्ट कृषि सहकारीमा लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड कमल, उत्कृष्ट बहुउद्देश्यीय सहकारीमा जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था गौरादह, उत्कृष्ट बचत कारोवार गर्ने गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, उत्कृष्ट कर्जा कारोवारमा ऋद्विसिद्धी महिला कृषि सहकारी संस्था लि. अर्जुनधारालाई जनही १० हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ ।
यस्तै उत्कृष्ट सञ्चारकर्मीमा प्रेस सेन्टर झापाका अध्यक्ष समेत रहेका पत्रकार पुष्प खड्कालाई नगद १० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ । उत्कृष्ट महिला व्यवस्थापकमा एकता बहुउद्देश्यीय सहकारी संस्था लि. हल्दिवारीकी उमा राई र मेची मासु उत्पादक सहकारी संस्था लि. मेचीनगरकी अनिता गुरागाईलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
यस्तै, पुरुष व्यवस्थापकमा तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगरका मोहन अधिकारीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अमर बहादुर विष्ट सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा झापा जिल्ला सहकारी संघले प्रकाशन गरेको स्मारिका विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले बुझेर मात्र सहकारी सञ्चालन गर्न आग्रह गरेका छन् । उनले आफु पनि सहकारी क्षेत्रमा काम गरेको अनुभव सुनाउदै नबुझी सहकारी सञ्चालन गर्न गाह्रो हुने बताए । सहकारी क्षेत्रलाई हेर्ने दृष्टि राम्रो नभएको स्मरण गराउदै विष्टले सदस्यहरुको बचत सुरक्षामा ख्याल गर्न सूझाव दिए । सदस्यहरुको रकम हिनामिना गर्ने, अपचलन गर्ने प्रवृत्ति बढ्दै गएकोमा विष्टले चिन्ता व्यक्त गरेका छन् । उनले त्यस्ता प्रवृत्ति भएकाहरुले राजनीतिक क्षेत्रमा पनि हालीमुहाली जमाएको भन्दै सबैखाले विकृतिको अन्त्य गर्न आग्रह गरेका छन् । सभामुख विष्टले सहकारीको भविष्य सुन्दर बनाउनका लागि सचेत भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।
जिल्ला संघका अध्यक्ष प्रेम कुमार कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी क्षेत्रका अगुवा, कर्मचारीहरुको उपस्थिति रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भानु दंगालले गरेका थिए ।









प्रतिक्रिया