मुख्य समाचार

भद्रपुरमा घर भत्काउने क्रममा खस्दा एकको मृत्यु

भद्रपुरमा घर भत्काउने क्रममा खस्दा एकको मृत्यु


भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ स्थित संगम चोकमा आज दिउँसो घर भत्काउने क्रममा बिमले थिचेर छतबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

झापा प्रहरीका अनुसार स्थानीय राधा कार्कीको दुई तल्ले पक्की घर भत्काउने कार्य भइरहेको थियो । सोही क्रममा दिउँसो करिब ३ बजे घरको बिम अचानक लड्दा छतमा कार्यरत दुई जना मजदुर भुइँमा खसेका थिए ।

दुर्घटनामा परी भद्रपुर नगरपालिका–५ राजन चोक बस्ने ३४ वर्षीय ओपेन राजवंशीको मृत्यु भएको छ । उनलाई उपचारका लागि तत्काल ओमसाई पाथीभरा अस्पताल पु¥याइएको भए पनि चिकित्सकले पु¥याउना साथ मृत घोषणा गरेका थिए । प्रहरीले साँझ ६ः३० बजे कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाएको छ ।

सोही घटनामा भद्रपुर–५, पोखरीटोल बस्ने ३५ वर्षीय धर्मेन्द्र यादव गम्भीर घाइते भएका छन् । उनलाई सुरुमा प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको थियो । अवस्था गम्भीर भएपछि टाउकोको सिटी स्क्यानका लागि साँझ ६ः४० बजे पुनः ओमसाई पाथीभरा अस्पताल रेफर गरिएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । घर भत्काउने क्रममा सुरक्षा सावधानी अपनाइएको थियो वा थिएन भन्ने विषयमा पनि सोधपुछ भइरहेको बताइएको छ ।

शेयर गर्नुहोस :

162
Shares