बिर्तामोड । झापाली साहित्यका सुप्रसिद्ध व्यक्तित्व तथा आख्यानकार कृष्ण धराबासीलाई यस वर्षको ‘दीर्घ साहित्य सेवा सम्मान’ अर्पण गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका, भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले शुक्रबार एक विशेष समारोहका बिच धराबासीलाई सो सम्मान प्रदान गरेको हो ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’ मा धराबासीलाई नगद १ लाख १ हजार रुपैयाँ र सम्मान पत्रले विभूषित गरियो ।

वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उप–प्रमुख खड्गमाया पराजुली, र प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले संयुक्त रूपमा धराबासीलाई सम्मान पत्र र नगद हस्तान्तरण गर्नुभएको थियो ।
नगरपालिकाले प्रदान गर्दै आएको यो प्रतिष्ठित सम्मानबाट यसअघि सरोजकुमार ओली, बिष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार, कृष्ण बराल सम्मानित भएका थिए ।
सम्मान कार्यक्रमसँगै आयोजित साहित्य विमर्शमा साहित्यकारहरू चन्द्र भण्डारी, सीमा आवास र दिपेन्द्र आचार्यले वक्ताका रूपमा आफ्ना विचार राख्नुभएको थियो । सो अवसरमा सहभागी साहित्यकारहरूले कविता, गीत, गजल लगायतका सिर्जनाहरू समेत प्रस्तुत गरेका थिए ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख खड्गमाया पराजुलीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । समितिकी संयोजक कन्चना काफ्लेको स्वागत र नगर कर्मचारी सौजन कटुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।







प्रतिक्रिया