प्रदीप परियार
आज विहानै झापाको बिर्तामोडमा घरमाथिबाट बच्चा खसेको समाचार आयो । बिर्तामोड –४ स्थित भद्रपुर रोडमा रहेको मञ्जु उप्रेतीको घरमाथिबाट बच्चा खसेपछि तत्कालै उपचारका लागि बिएण्डसी पठाइएको थियो । केहीबेरमा बच्चा नरहेको समाचारले सबैलाई स्तब्ध बनायो । उप्रेतीको घरमा डेरा गरेर बस्ने परिवारमा भेटघाटका लागि दमकबाट उनीहरु आएका रहेछन् । ५ वर्षीय बालिकाको खेल्दाखेल्दै लढेर ज्यान गयो । बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली ।

केहि वर्षअघि धुलाबारीको एक विद्यालयमा ढलमा परेर एक बालकको मृत्यु भएको थियो । त्यो घटनाले सबै विद्यालयहरुलाई सचेत गराएको थियो । घटनापछि लगत्तै स्थानीय तहहरुले विद्यालयको अनुगमन गरेका थिए । अनुगमन गर्न पुग्दा धेरैजसो विद्यालयहरुले व्यवस्थित गरेका थिए । कुनै दुर्घटना नभएसम्म सतर्कता अपनाउन अग्रसर कमै मात्र पाइन्छ । त्यसैले हरेक दुर्घटना पाठ बनिरहेको छ । त्यसले सिकाउने पनि रहेछ ।
आज बिर्तामोडमा भएको घटना भवितव्य हो । घरको झ्याल असुरक्षित हुँदा दुर्घटना भयो । झ्याल सुरक्षित नभएका कारण बच्चा भुईमा खसेको हो । बालबच्चा भएको घरहरुमा ससानो सावधानी अपनाउनु पर्छ । सावधानी अपनाउन सकिएन भने त्यसले ठुलो मानवीय क्षति हुने रहेछ ।
घरको रेलिङ, झ्यालको अवस्था के छ ? आजै हेरौं । घरमा जडान गरिएको विद्युतीय सामग्रीहरुमा रहेको जोखिम तत्कालै हेरौं । घर भित्र राखिएका दराजसहित लढ्न सक्ने, लढेर थिच्न सक्ने सामानहरु पनि जाँच गरौं । कहिलेकाँही, भित्तामा राखिएको सामान खसेर पनि बच्चालाई लाग्न सक्छ । परिवारमा बालबच्चा, वृद्धवृद्धा भएको अवस्थामा असाध्यै धेरै सतर्कता अपनाउनुपर्छ । पक्का संरचनाहरुमा पनि विशेष ख्याल गर्न जरुरी छ ।
यो बालबच्चा भएको घरको सवाल मात्र होइन । सुरक्षा सावधानीका लागि हरेक घरघरमा सतर्कता अपनाउनुपर्छ । रेलिङबाट टाउको बाहिर निकाल्ने, शौचालय सफा नहुँदा चिप्लेर लढ्ने यस्ता कयौं जोखिमहरु घरमै हुन्छ । त्यसैले पनि ख्याल गर्नुपर्छ ।

हिजोआज प्रविधि मार्फत जोखिम बढेको छ । बालबच्चा भएको घरमा आमा बुवा मोवाइलमा व्यस्त हुने, बच्चाको हेरचाहमा ध्यान नदिने हुँदा अर्को जोखिम बढेर गएको छ । खेल्दाखेल्दै लढ्न सक्छन्, बाटोमा निस्कन पनि सक्छन् । त्यसैले बालबालिकाको सुरक्षामा विशेष ख्याल गरौं ।
आज भएको घटनाले परिवारमा धेरै पीडा दिएको छ । आफन्तहरुलाई घरमा झ्याल सुरक्षित नबनाएकोमा कति ठुलो पश्चाताप भयो होला । घरधनीलाई पनि यो घटनाले दुखित बनाएको छ । आफ्नो घरमा झ्याल ठिक थियो, सुरक्षित हुन्थ्यो भने दुर्घटना हुने थिएन भन्ने अवश्य भयो ।
घरधनीहरुले बेलाबेला घरायसी मर्मत संभारमा ध्यान दिन जरुरी देखिएको छ । यो घटनाले सबैको आँखा खोलिदिएको छ । आगामी दिनमा सबैले सुरक्षा सतर्कता अपनाऔं, मानवीय क्षति हुनबाट जोगाऔं ।
तस्वीर – एआई







प्रतिक्रिया